मेलम्ची आयोजना बन्यो बगरमा परिणत, उपत्यकामा तत्काल पानी ल्याउन असम्भव

मेलम्ची आयोजना बन्यो बगरमा परिणत, उपत्यकामा तत्काल पानी ल्याउन असम्भव


दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ। असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याएपछि आयोजना नै अनिश्चित भएको हाे। लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु पर्याे। वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ। पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन।” असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ। खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ। खोलाको उचाइ पनि बढाइरहेको छ। जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन्। नदीले धार परिवर्तन गरेको छ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, “हिमालको तल्लो भेगमा पहिरो गइरहेकाे छ। भेनाथाङमा ठूलो पहिरो गइरहेको छ। अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ। त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ। जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ। ”

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन्। पुलहरू बगाएका छन्। निर्माणस्थलमा बालुवा, ढुङ्गा र गिट्टी थुप्रिएर बगर भएको छ। बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन। बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ।

उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ। तर वर्षात्मै ट्र्याक खुला गर्न सकिने अवस्था छैन। मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि तिम्बु खण्डमा मोटरबाटो बगाएको छ। सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ। समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनु पर्नेछ।

हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ। हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ। त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ।

हाल सुरुङभित्र पानी भरिएको छ। अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ। आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ।गोरखापत्रबाट

Skip This
Logo