एक महिनामै नेपालको निर्यात व्यापार २० अर्ब, सबैभन्दा धेरै भटमासको तेल निर्यात

एक महिनामै नेपालको निर्यात व्यापार २० अर्ब, सबैभन्दा धेरै भटमासको तेल निर्यात


चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै नेपालको निर्यात व्यापार २० अर्ब रुपैयाँ नाघेको छ। कुनै एउटा आर्थिक वर्षको पहिलो महिनामै यति ठूलो रकम बराबरको निर्यात भएको पहिलो पटक हो। 

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा नेपालले २० अर्ब ७६ करोड रुपैंयाँ बराबरको वस्तु निर्यात गरेको हो। यो अघिल्लो आवको सोही महिनाको तुलनामा ११५.८५ प्रतिशतले बढी हो। गत साउनमा नेपालले नौ अर्ब ६२ करोड रुपैंयाँ बराबरको वस्तु निर्यात गरेको थियो।

नेपालको निर्यातमा देखिएको यस्तो उछाललाई भटमासको तेलको सहयोग पुर्याएको छ। साउनमा मात्रै आठ अर्ब ९८ करोड रुपैंयाँको भटमास तेल निर्यात भएको विभागको तथ्याङ्क छ। त्यसपछि ९४ करोड रुपियाँ बराबरको पाम तेल निर्यात भएको छ। कच्चा भटमास र पाम आयात गर्ने र त्यसलाई प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्तिले पनि निर्यात अत्यधिक बढेको देखिएको हो। 

यस्ता वस्तु नेपालबाट भारतमा निर्यात हुने गर्छन्। पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि पनि निर्यात बढेको देखिन्छ। नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा रहेको छ। विभागका अनुसार नेपालबाट ७९ करोड रुपैंयाँको सूर्यमुखी तेल निर्यात भएको छ। त्यस्तै ६१ करोड रुपियाँ बराबरको ऊनी कपडा निर्यात भएको तथ्याङ्कले देखाउँछ।

निर्यातजस्तै आयातको वृद्धिदर पनि साउनमा निकै बढेको छ। साउनमा मात्रै नेपालले एक खर्ब ५० अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो साउनको तुलनामा ७५.६६ प्रतिशतले बढी हो। गत साउनमा नेपालले ८५ अर्ब ८० करोड रुपियाँ बराबरको वस्तु आयात गरेको थियो। यस वर्ष साउनमा सबैभन्दा धेरै अर्थात् आठ अर्ब ३२ करोड रुपियाँ बरारबको कच्चा भटमास तेलको आयात भएको छ। त्यसपछि छ अर्ब ६४ करोड रुपियाँको डिजेल, छ अर्ब ४५ करोड रुपैयाँको अर्धप्रशोधित फलामका उत्पादन, चार अर्ब ८२ करोडको मोबाइल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

आयात वृद्धिदरको अनुपात बढ्दा व्यापार घाटा पनि झन् फराकिलो भएको छ। साउनमै मात्र नेपालले अन्तर्राष्ट्रिय व्यापारमा एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको घाटा बेहोरेको छ।गोरखापत्रबाट

Logo