उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ६ टोलीद्वारा बजार अनुगमन हुँदै

उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ६ टोलीद्वारा बजार अनुगमन हुँदै


सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ। चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ। यो वर्ष पनि त्यसैको निरन्तरता हो। विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले नियमित रूपमा बजार अनुगमन गरिरहेका छन्।

उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको बताए। उनका अनुसार, डेढ सातादेखि दैनिक छ वटा टोलीले बजार अनुगमन गरिरहेको छ। जसमा पाँचवटा टोलीले यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ।

राहत महसुस भएन
उपभोक्ता अधिकारकर्मीहरूले सरकारको बजार अनुगमन नियमित भए पनि आम उपभोक्ताले राहतको महसुस गर्न नपाएको बताउँदै आएका छन्। उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा अहिले पनि मूल्य, नापतौल र गुणस्तरमा असाध्यै समस्या रहेको बताए।

सुध्रिएन बजार
यता विभागको नेतृत्वमा भएको अनुगमन टोलीले मूल्य, गुणस्तर र नापतौलमा केन्द्रित रहे पनि बजारमा सुधार आउन सकेको छैन। बजार अनुगमन नियमित हुँदा पनि बजारको अवस्था नसुुधारिएको स्वयं सरकारी अधिकारी स्वीकार्छन्। विभागका निर्देशक शिवराज सेढाइले बजार अनुुगमन चाडपर्वमा मात्रै होइन नियमित भइरहेको तर पनि बजारको अवस्थामा सुधार नआएको बताए।

उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा उपत्यकामा तीन हजार ९७४ वटा व्यापारिक प्रतिष्ठानको अनुुगमन गरिएकोमा ६८ वटाबाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको थियो। गएको साउन र भदौमा ४२४ वटा र असोज १ देखि १३ गतेसम्म ३५० वटा व्यवसायी प्रतिष्ठान अनुगमनका क्रममा पनि कुनै सुधार भएको देखिँदैन। अनुगमनमा केही न केही कैफियत भेटिएको छ। निर्देशक सेढाईले भने, “अनुगमन गरिएका व्यापारिक प्रतिष्ठान दर्ता नवीकरण नभएका, म्याद नाघेका सामान, रिलेवलिङ र मूल्य जथाभावीलगायतका समस्या देखिएका छन्।”

चाडपर्वका बेला बजारमा भीडभाड बढी भएको मौका छोपी व्यवसायीले म्याद नाघेका खाद्यवस्तु बिक्री गर्छन्। विभागले उपत्यकासँगै अन्य जिल्लामा केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको छ।

सहुलियत मूल्य पसल
सरकारले चाडपर्वलाई लक्षित गरेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डीडीसी) आ–आफ्नो तरिकाले दशैँ, तिहार र छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्।

खाद्य व्यापार कम्पनीले उपत्यकाका चार स्थानसहित ३९ जिल्लाका बिक्री केन्द्रसमेत गरेर ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ भने साल्ट  ट्रेडिङ कर्पोरेसनले उपत्यकामा तीन मोबाइल भ्यानसहिन नौ स्थान र उपत्यका बाहिर २४ गरी ३२ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ। उपभोक्तालाई राहत होस् भनेर सरकारबाट अनुदान लिएर ती संस्थानले प्रत्येक वर्ष यसैगरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएका छन्।गाेरखापत्रबाट

Logo