कांग्रेसकाे १४औं महाधिवेशनः अहिलेसम्म अधिवेशन सकिएका जिल्लाहरूमा देउवाकै वर्चश्व

कांग्रेसकाे १४औं महाधिवेशनः अहिलेसम्म अधिवेशन सकिएका जिल्लाहरूमा देउवाकै वर्चश्व


अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन्। १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मिहेनत गरिरहेका छन्।

दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो। जसमध्ये जुम्लामा शुक्रबार अबेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन। हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, म्याग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन।

अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट हुन्। गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका हुन्।

जिल्ला अधिवेशन भएको मनाङ, मुस्ताङ, रुकुम पूर्व र कालिकोटमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। अहिलेसम्म प्राप्त १३ जिल्लाको नतिजा हेर्दा १४औं महाधिवेशनमा पौडेल पक्ष कमजोर हुँदै गएको देखिन्छ। अधिल्लो महाधिवेशनमा ७५ जिल्लामध्ये कोइराला र पौडेल पक्षको ४६ जना जिल्ला सभापति थिए भने देउवा निकट जिल्ला सभापति २९ जना मात्र थिए। तथापि १३औं महाधिवेशनमा देउवाले सभापतिमा विजयी प्राप्त गरेका थिए। देश संघीयतामा गएपछि अहिले २ जिल्ला थपिएको छ। यही तरिकाले नेतृत्व आउने हो भने जिल्ला सभापतिमा देउवा पक्षको कम्तीमा ४० जना आउने राजनीतिक विश्लेषकहरुको भनाइ छ।नेपाल समाचारपत्रबाट

Logo