राष्ट्रपति र प्रधानमन्त्रीको ‘दर्शन’ नै यति महँगो ?

राष्ट्रपति र प्रधानमन्त्रीको ‘दर्शन’ नै यति महँगो ?


काठमाडौंको माइतीघरस्थित सडकको भित्तामा टाँगिएको एउटा ब्यानर बोल्छ– ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार !’ ब्यानरको एकापट्टि पिठ्युँभरि नीलडाम देखिने नन्कुन्नी धोबीको तस्बिर छ। छेउमा लेखिएको छ, ‘घरेलु हिंसापीडित नन्कुन्नी धोबी र विधवा निर्मला कुर्मी हत्याका दोषीलाई पक्राउ गरी कारबाही गरियोस् ।’

भुइँमा बसेका छन्– बाँकेका महिला अधिकारकर्मी र मृतकका आफन्त । कोही सुतिरहेका, कोही बसेरै निदाइरहेका । सबै थकित । नेपालगन्जदेखि पैदलै आउँदा खुट्टामा उठेका पानीफोका फुटेर चहर्याइरहेका घाउको पीडा उनीहरूको अनुहारमा झल्किरहेको छ। १३ महिलासहित १७ जनाको टोली बिहान ११ नबज्दै ब्यानर टाँगेर धर्ना बस्छन् । बेलुका ५ बजेपछि ब्यानर पोको पारेर आश्रय खोज्दै दगुर्छन् ।

माइतीघरमा ११ दिनदेखि बसेका उनीहरूको पछिल्लो संघर्ष ५० दिन देखिको हो । एकातिर प्रहरीको धरपकड, अर्कोतिर आन्दोलनबाट फिर्ता हुन पीडकहरूको धाकधम्की । लामो संघर्षले सबैको शरीर गलिसकेको छ तर महिला हिंसाका कारण ज्यान गुमाएका र बेपत्ता पारिएका धोबी र कुर्मीको न्यायका निम्ति खबरदारी गर्दै उठेको उनीहरूको आवाज अझै जोडदार छ ।

सरकारको मौनता तोड्न उनीहरूले नेपालगन्जमै जिल्ला प्रहरी कार्यालयअगाडि १९ दिनसम्म धर्ना दिए । जिल्ला प्रशासनले नसुनेपछि बुटवलमा मुख्यमन्त्रीलाई भेटेर हारगुहार गरे। तर न्याय पाउने विश्वास नभएपछि हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन् ।

२० दिन पैदल यात्रापछि काठमाडौं आउँदै गर्दा उनीहरूले भनेका थिए, ‘गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर हाम्रो आवाज सुनाउँछौं ।’ तर, बालुवाटार र शीतल निवासले अहिलेसम्म चासो दिएको छैन । २४ असोजमा उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाणले बोलाएर आन्दोलन स्थगित गरे छानबिन गर्ने सर्त राखेका थिए । यसका लागि उनीहरूले मन्त्रीबाट लिखित प्रतिबद्धता मागेका थिए ।

तर गृहमन्त्रीले न लिखित प्रतिबद्धता जनाए न छानबिन समिति नै बनाए । बरु प्रहरीले उनीहरूको आवाजलाई दबाउन धरपकड गर्ने, हिरासतमा लिने र झूटो मुद्दा चलाउनेसम्मको कोशिस गरिसकेको छ । २२ असोजमा माइतीघरमा आएका उनीहरूलाई त्यही दिन प्रहरीले उठाएर एक रात हिरासतमा राख्यो । आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई त नेपालगन्ज नै पुर्‍यायो । झूटो मुद्दा लगाउन उद्यत प्रहरीले सर्वोच्चको आदेशपछि छैटौं दिन बिहीबार हिरासतमुक्त गरेको हो ।

९ दिनअघि हिरासतबाटै भोक हडताल थालेकी रुबीको स्वास्थ्य बिग्रिएपछि शनिबारै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । ‘रुबी दिदी अस्पतालमा पनि अनशन बस्नुभएको छ, हामीले माइतीघरबाट धर्ना दिइरहेका छौं,’ महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले भनिन्, ‘हामीले गृहमन्त्रीलाई भेटेर माग राख्यौं, सुनुवाइ भएन । तर हामी थाकेका छैनौं । जबसम्म हाम्रो माग पूरा हुँदैन तबसम्म निरन्तर धर्ना दिइरहन्छौं ।’

उनले दोषीहरू खुलेआम हिँड्ने र तिनलाई कारबाहीको माग गर्दा धरपकड गर्ने र झूटो मुद्दा लगाउने प्रयास भएको गुनासो गरिन् । ‘दोषीहरू खुलेआम हिँडिरहेका छन्, सरकार उनीहरूलाई कारबाही गर्दैन, बरु उल्टै हामीलाई यहाँबाट हटाउन लागिपरेको छ तर न्याय पाउने सुनिश्चित नभएसम्म हामी आन्दोलन रोक्दैनौं,’ उनले भनिन् ।

शनिबार अस्पताल भर्ना हुनुअघि रुबीले बाँके प्रहरीका एसपी मधुसुदन न्यौपाने र डीएसपी श्यामकृष्ण अधिकारीले नै अभियुक्तहरूलाई संरक्षण दिएर राखेको, न्यायका लागि संघर्ष गर्दा महिला अधिकारकर्मी र मृतकका परिवारलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरूलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

‘बाँके प्रहरीका एसपी र डीएसपीले नै अभियुक्तहरूलाई संरक्षण गरेर राख्नुभएको छ, पीडितलाई न्याय दिलाइयोस् भन्ने माग गर्दा महिला अधिकारकर्मी र मृतकका आफन्तलाई नै अभद्र व्यवहार भएको छ,’ उनले भनेकी छन्, ‘त्यसैले दोषीको संरक्षण गर्ने प्रहरीले पीडितलाई न्याय दिन सक्दैन । सबैभन्दा पहिले त डीएसपी श्यामकृष्ण अधिकारी र एसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गरियोस् भनेर म सरकारसँग माग गर्दछु ।’

उनले बाँकेमा प्रहरीले दोषीलाई पक्राउ गरी अदालत पुर्‍याएको भनेर प्रचार गरे पनि त्यस्तो कुनै काम नभएको बताइन् । ‘प्रहरीले अदालतसम्म मुद्दा पुर्‍यायौं भनेर सन्देश प्रवाह गरिरहेको छ, वास्तवमा त्यस्तो भइरहेको छैन । नन्कुन्नी धोबीको हत्यामा संलग्न दुई जनालाई समातिएको हो, निर्मला कुर्मीको केसमा कसैलाई पनि प्रहरीले समातेको छैन,’ उनले भनिन्, ‘हामीमाथि अनावश्यक दबाब, धम्की र धरपकड गर्ने काम भइरहेको छ । अब त हामी संघर्षमा उत्रिएकाहरू नै असुरक्षित छौं । हाम्रो सुरक्षाको ग्यारेन्टी गरियोस् ।’

श्रीमानबाट निरन्तर घरेलु हिंसा खेप्दै आएकी नन्कुन्नी धोबी गत ५ साउनमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । तर, उनको हत्या भएको माइती पक्षको आरोप छ । प्रहरीले भने धोबीको पोस्टमार्टम रिपोर्टले आत्महत्या गरेको देखाएको भन्दै ‘फाइल क्लोज’ गर्न चाहेको थियो । आन्दोलन सुरु भएपछि प्रहरीले धोबीका पति र उनका जेठाजुलाई पक्राउ गरेको छ ।

निर्मला कुर्मी भने गत वर्षको मंसिरदेखि बेपत्ता छिन् । दुई छोरीकी आमा उनलाई किन र कसले बेपत्ता पार्‍यो ? अहिलेसम्म प्रहरीसँग जवाफ छैन । कुर्मीका आफन्तले गत मंसिर १६ मै किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन्। रुबीले आन्दोलनरत महिलाका घरमा आन्दोलनबाट फिर्ता हुन भन्दै धम्की दिने, झूटो मुद्दा लगाउँछु भनेर डर देखाउने जस्ता गतिविधि भइरहेको सुनाइन् ।

‘हामी यहाँ जो साथीहरू छौं, हाम्रो घरमा मान्छे पठाएर धम्की दिने, डर देखाउने काम भइरहेको छ । त्यहाँ आन्दोलनमा किन बसेको ? घर आऊ भनेर दबाब दिने काम भइरहेको छ । आउँछौ भने आऊ, नत्र के गर्नुपर्छ हामीलाई थाहा छ भनेर समेत धम्क्याइरहेका छन्,’ उनले भनिन्, ‘हामी सबै आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गरियोस्। हामीमाथि कुनै पनि झूटो मुद्दा लगाउन पाइँदैन ।’

रुबीले यो आन्दोलन दुई महिलाको हत्याको विषय मात्रै नभएर समग्र महिला हिंसा र हत्याका घटनासँग जोडिएको बताइन्। उनले आफूमाथि प्रहरीले ज्यादती गरेको गुनासो गरेकी छन्। कान्तिपुरबाट

Logo