जुम्ली स्याउको मूल्य जुम्लामै प्रतिकेजी १५१ रुपैयाँ

जुम्ली स्याउको मूल्य जुम्लामै प्रतिकेजी १५१ रुपैयाँ


एक दशक अघिसम्म जुम्लाको मूल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो। ढुवानीको एक मात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मूल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो। जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे। अधिकांश स्याउ गाइवस्तुको आहारा बन्थ्यो। माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो। बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो।

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुँदै जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो। यहाँको स्याउको मूल्य बढ्दै जान थाल्यो। किसानहरू स्याउ खेतीप्रति आकर्षित हुन थाले । गत बर्ष बगैँचामै स्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो। यो बर्ष जुम्ली स्याउको मूल्य १५१ रुपैयाँ प्रतिकेजी छ। यो मूल्य जुम्ली स्याउको अहिलेसम्मको सर्वाधिक हो।

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मूल्य १५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने, ‘जुम्ली स्याउको स्वाद, कलर, गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मूल्य बढि हुनु कुनै अनौठो होइन। यो मूल्य पनि निकै कम हो।’

उनले दुई सय कार्टुन स्याउ बजारमा ल्याएका थिए। ५० कार्टुन स्याउ बेचिसकेका छन्। उनले भने, ‘बाहिरबाट आयतित फुजी स्याउको मूल्य एक सय ५० रुपैयाँ हुनु पर्ने तर जुम्ली स्याउको मूल्य कम हुनुपर्ने कारण के छ ?’ उनले फुजी स्याउको भन्दा जुम्ली स्याउको मूल्य बढी हुनु पर्नेमा जोड दिए।

फुजी स्याउ १५० रुपैयाँमा बेचिरहेको देखे। यसको तुलनामा जुम्ली स्याउका मूल्य निकै कम भयो। सबैमा फुजी स्याउ भन्दा जुम्ली स्याउ निकै कम गुणस्तरको भन्ने भ्रम सिर्जना भयो, उनले भने, ‘ फुजी स्याउ हाइब्रेड हो। यो स्याउमा रासायनिक मलको प्रयोग भइरहेको छ। जुम्ली स्याउका शुद्ध अर्गानिक मलको प्रयोग भइरहेको छ।’

जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो। यो रुखमै टिपेर खान मिल्छ। फुजी स्याउको स्प्रे गरेको पातमा लेयर छ। रेड लेवलको विषादी मिसाइएको छ। अर्गानिक मलको नाममा युरिया मलको प्रयोग भइरहेको छ। उनले थपे, ‘फुजी स्याउका करोडौको लगानी छ। यो आर्थिक रुपमा बलियो मान्छेले मात्र खेती गर्न सक्छन्। फुजी स्याउ प्रतिविरुवा १३ सय रुपैयाँ पर्छ। जुम्ली स्याउको प्रतिबोट २५ रुपैयाँ मात्र।

जुम्ली स्याउलाई हेयका दृष्टिले हेरिन्छ। फुजीको लगानीमा तीन बगैँचा छ। सबै स्याउ जुम्ली नै हो। खर्बको लगानी छ। जुम्लाका झण्डै १५ हजार ५ सय घरमा स्याउ बगैँचा छ। न्युनतम ५० देखि १५ सय रुपैयाँसम्म विरुवा छ।

राहसिंह रावलको एक हजार जुम्ली स्याउका विरुवा छन्। यो स्याउ जुम्लाको पहिचान पनि हो। उनले भने, ‘जुम्ली स्याउको गुणस्तरमा कुनै कमि नहोस भन्नका लागि जुम्ली स्याउको मूल्य नै १ सय ५१ रुपैयाँ तोकिएको उनले बताए।

उनले पहिलो वर्ष काठमाडाैंमा १० टन स्याउ लिएका थिए। दोस्रो बर्ष उनले बगैँचामै स्याउ बेचे प्रतिकेजी ५० रुपैयाँमा। अहिले निकै कम फलेकोले यो बर्ष स्याउ सदरमुकाम खलंगामा ल्याएर बेच्दैछन्। एक सय ५१ रुपैयाँमा स्याउको तोकिदासमेत माग बढिरहेको छ। इतिहासमै पहिलो पटक जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ भएपछि किसान निकै उत्साहित छन्। यो बर्ष कृषि विकास कार्यालय जुम्लाका अनुसार ९ हजार मेट्रिक टन स्याउ फलाउने लक्ष्य राखिएको थियो। तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ। यो बर्ष स्याउ कम फलेपनि निकै गुणस्तरीय दाना बेच्न पाएकोमा किसान उत्साहित छन्।

जुम्ली स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ। यहाँका किसानले त्यही कार्टुनमा स्याउ बजारसम्म पुर्याएका छन्। यो कार्टुनमा केमीकल प्रयोग नगरेको शुद्ध अर्गानिक स्याउ मात्र राखिन्छ। जो स्याउ खान योग्य हुन्छ।

गत पुष माघ महिनामा हिउँ नपुर्न,चैत बैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ बर्षैपिच्छे पालो गरेर फल्ने भएकोले यो बर्ष स्याउ उत्पादनमा कमि आएको कृषि विज्ञहरु बताउँछन्। केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो। तर त्यसको क्षति एकिन गरेर किसानले विमाङ्क रकम पाउने छन्।

अहिले बगैँचामा सामान्यरुपमा लाइकिराको प्रकोप देखिएपनि खासै रोकिराको संक्रमण थिएन। यहाँका १६ हजार स्याउँ बगैंचा छन्। ३ हजार ८ सय ५० हेक्टरमा स्याउ खेती गर्छन्। एक बगैँचा हुनका लागि न्युनतम २५ विरुवा स्याउको लगाएको हुनुपर्छ। नागरिकबाट

Logo