वैदेशिक रोजगारमा जाने मध्ये ५२ प्रतिशतभन्दा बढी अदक्ष श्रमिक

वैदेशिक रोजगारमा जाने मध्ये ५२ प्रतिशतभन्दा बढी अदक्ष श्रमिक


वैदेशिक रोजगार विभागको तथ्याङ्कमा ५२ प्रतिशतभन्दा बढी श्रमिक विनासीप श्रम स्वीकृति लिएर विदेसिने गरेको पाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन वर्षअघि न्यूनतम एकमहिने सीप नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने घोषणा गरेको थियो । तर, त्यो कार्यान्वयन नभएको विभागकै तथ्याङ्कले पुष्टि गरेको छ । 

मन्त्रालयले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने घोषणा गरे पनि नियम नबन्दा तालिमविना नै जान बाध्य छन् ।

वैदेशिक रोजगारी बोर्डका निर्देशक दीनबन्धु सुवेदीले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने तर त्यो व्यवस्था अहिलेसम्म गर्न नसकिएको स्वीकार गर्नुभयो ।

विभागका आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर जानेको तथ्याङ्कमात्रै हेर्दा ५२ प्रतिशतभन्दा बढी अदक्ष श्रमिकले श्रम स्वीकृति लिएर बिदेसिएका छन् । सो अवधिमा एक लाख ४९ हजार २२९ जनाले श्रम स्वीकृति लिएकोमा ७८ हजार ४३० जना अदक्ष रहेका छन् । यस्तै ५८ हजार ४६२ दक्ष, ११ हजार ४७४ अर्धदक्ष, प्रोफेसनल १३६ जना र उच्च दक्ष भएका ३६ जना श्रमिक गएका छन् ।

त्यसैगरी, विभागका अनुसार आव २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामध्ये ८० हजार ३८२ जना अदक्ष र ७० हजार ४२६ जना दक्ष श्रमिक थिए । सो अवधिमा ६१ जना उच्च दक्ष, प्रोफेसनलमा २४६ जना, अर्धदक्ष १५ हजार ५८३ जना रहेका छन् ।

गत आर्थिक वर्षमा कोरोना भाइरसका कारण बिदेसिने श्रमिकको सङ्ख्यामा गिरावट आएको थियो । अहिले श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएसँगै अदक्ष श्रमिकका रूपमा जाने सङ्ख्या पनि उच्च छ । त्यसले विदेशी भूमिमा सिकेको सीपलाई मान्यता नदिई पुनः अदक्ष हैसियतमा राखिनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको तथ्य स्थापित भएको विज्ञको भनाइ छ ।गोरखापत्रबाट

Logo