६ महिनामा १ खर्ब ५ अर्ब राजस्व उठायाे वीरगञ्ज भन्सारले

६ महिनामा १ खर्ब ५ अर्ब राजस्व उठायाे वीरगञ्ज भन्सारले


आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। ‘यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी हो,’ पौडेलले भने।

वीरगञ्ज भन्सारले गत आवको पुससम्ममा राजस्वमा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको भन्सारको तथ्यांकमा देखिन्छ। गतवर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष ह्वात्तै बढेकाले चालू आवमा आयातसँगै राजस्व पनि उल्लेख्य बढेको पौडेलको भनाइ छ।

चालू आवको ६ महिनाका लागि वीरगञ्ज भन्सारले १ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा ६ प्रतिशत बढी हो।

यो वर्षको शुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ। विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ। सरकारको यो नीतिको असर देखिन कम्तीमा २ महिना लाग्ने र त्यसपछि भने राजस्वमा कमी आउने अनुमान भन्सार अधिकारीहरूको छ।

कुन शीर्षकमा कति राजस्व ?
भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर उठाएको छ। ३१ अर्ब रुपैयाँ यो कर उठाउने लक्ष्य लिएको भन्सारले लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब रुपैयाँ संकलन गरेको छ।

वीरगञ्ज भन्सारबाट भित्रिएका मालसामानमा ६ महिनामा ३८ अर्ब रुपैयाँ भन्सार महसुल उठेको छ।

अन्तःशुल्कतर्फ १२ अर्ब र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार कर मात्रै करीब ८ अर्ब रुपैयाँ संकलन भएको भन्सारले बताएको छ। अग्रिम आयकर १४ करोड रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख, कृषि सुधार शुल्क ७३ करोड, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब असुल गरेको छ।

वस्तु निकासीबाट १ करोड रुपैयाँ राजस्व आम्दानी गरेको भन्सारले भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ५ करोड रुपैयाँ संकलन गरेको तथ्यांक छ।अभियान दैनिकबाट

Logo