किसानकाे बारीमा आधाले घट्यो गोलभेँडाको भाउ, बजारमा कति पर्छ?

किसानकाे बारीमा आधाले घट्यो गोलभेँडाको भाउ, बजारमा कति पर्छ?


किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा गिरावट आएको छ। 

सर्लाहीमा अहिले गोलभेँडा उत्पादनको मुख्य याम हो। अधिकांश किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे छ। यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न लालबन्दी ल्याइने भएकाले यहाँ अहिले गोलभेँडा प्रतिक्रेट (२५ केजी) ४०० रुपियाँमा बिक्री भइरहेको छ। क्रेटको ४०० रुपियाँले बेच्दा किसानले एक किलो गोलभेँडाको १६ रुपियाँ पाउँछन्। दुई साताअघिसम्म गोलभेँडा प्रतिक्रेट ८०० देखि एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको थियो। किसानले घटेकाे मूल्य पाए पनि बजारमा भने अहिले प्रतिकेजी ५० रूपैयाँ भन्दा बढी पर्ने गरेकाे छ।

लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले मुख्ययाममा गोलभेँडाको मूल्य बर्सेनि घट्ने गरेको गुनासो गरिन्। पाकेर राताम्मे भएका गोलभेँडा तत्कालै बिक्री नगरे बारीमै कुहिने भएकाले कम मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

व्यवसायिकरूपमा गोलभेँडा खेती हुने लालबन्दी र हरिवन नगरपालिकाका उत्तरी भेगका किसानलाई अहिले गोलभेँडा टिपेर बजारसम्म ल्याई बिक्री गर्ने चटारो छ। यो याममा किसानले गोलभेँडा बेचेरै राम्रो कमाइ गर्छन्।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा धेरै गोलभेँडा भित्रिएका कारण केही दिनदेखि गोलभेँडाको मूल्य निरन्तर ओरालो लागिरहेको बताए। आफूहरूले किसानसँग किनेको गोलभेँडा काठमाडौँ, नारायणघाट, वीरगञ्ज, सिन्धुलीलगायतका स्थानमा पठाइरहेको व्यापारी उस्मानले बताए।गाेरखापत्रबाट

Logo