स्वास्थ्य निर्देशनालयले पोस्ट गरेको ‘भाइरल’ तस्बिर, यस्ताे छ वास्तविकता

स्वास्थ्य निर्देशनालयले पोस्ट गरेको ‘भाइरल’ तस्बिर, यस्ताे छ वास्तविकता


मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिरबारे लेख्यो- ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।’

मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ। यहीबेला सरकारले बुस्टर डोज पनि सञ्चालन गरिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिर खोप अभियानसँगै सम्बन्धित रहेको भनिएको छ।

माघको महिना । जताततै चिसो। कतिपय ठाउँमा त कठ्याङ्ग्रिँदो चिसो र हिउँले जनजीवन नै प्रभावित भइरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पोस्ट गरेको खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको यो तस्बिर अहिले भाइरल भइरहेको छ। तस्बिरमा एक महिला स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको देखिन्छ। यस्तो कठ्याङ्ग्रिँदो चिसो र हिउँकोसमेत पर्बाह नगरी स्वास्थ्यकर्मीहरू आफ्नो पेसामा कतिसम्म दत्तचित्त हुन्छन् भन्ने सन्देश दिन खोजिएको भान हुन्छ ।

प्रतिक्रियाको बाढी नै आउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले तस्बिरबारे थप जानकारीसमेत दिएको छ। तस्बिरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बागलुङमा कार्यरत रहेको सूचना थप गरिएको थियो ।

तर, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जुन तस्बिर पोस्ट गरेको छ, त्यो तस्बिर अहिलेको होइन। तस्बिर जुन महिलाको हो, तिनै महिलाले यो तस्बिर अहिलेको नभई तीन वर्षअघिको भएको प्रतिक्रियासमेत दिइसकेकी छन्। त्यसैले प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले सस्तो लोकप्रियताका लागि यो काम गरेको सहजै भन्न सकिन्छ।

अब जानौँ ‘भाइरल’ बनेको यो तस्बिरको यथार्थता । यो तस्बिर तीन वर्ष अगाडिको अनमी प्रेमकुमारी केसीको हो। त्यतिबेला उनी रणसिंहकिटेनी हेल्थपोस्टमा कार्यरत थिइन्। अहिले भने छैनन् । उनी अहिले बागलुङकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन्। यो तस्बिर केसीकी सहकर्मी निशा पुनले खिचेकी हुन्।

तस्बिरको यथार्थताबारे केसीले मुख खोल्दै भनेकी छन्, ‘यो तस्बिर निशा पुनले खिचेकी हुन् । त्यसबेला उनी हेल्थपोस्टको इन्चार्ज थिइन् । हामी दुई जना बागलुङको बडीगाड गाउँपालिका–८ बाट त्यहाँको दुर्गम भेग नेपाने गाउँमा जाँदै थियौँ । यो तस्बिर त्यतिबेला भ्याक्सिन लैजाँदाको हो । त्यतिबेला हामीलाई नेपाने गाउँमा भ्याक्सिन पुर्‍याउन हिउँका कारण धेरै अप्ठेरो भएको थियो । हेल्थटुलमा मैले बोकेको भ्याक्सिन रेगुलर इम्युनाइजेसन भ्याक्सिन हो ।’

उनले आफू कार्यरत हेल्थपोस्टबाट घण्टाैंको बाटो हिँडेर नेपाने गाउँ पुगेको पनि सम्झिइन् । रणसिंहकिटेनीमा हिउँदको बेला अहिले पनि स्वास्थ्यकर्मी त्यसरी नै स्वास्थ्य सामग्री लैजाने गरेको उनले सुनाइन् ।

उता, पुरानो तस्बिरलाई अहिलेको परिस्थितिमा पोस्ट गरेको भन्दै चर्को आलोचना भएपछि प्रदेश स्वास्थ्य कार्यालय गण्डकीले स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने उद्देश्यले सो तस्बिर पोस्ट गरिएको स्पष्टीकरण दिएको छ।

निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बडिगाड हेल्थपोस्टकै आग्रहमा आफूहरूले फोटो राखेको बताए। उनले सो तस्बिर अहिलेको नभएको पनि प्रस्ट पारे। -राजधानीबाट

Logo