वीरगञ्ज भन्सारबाट वैदेशिक व्यापार ७६ प्रतिशतले बढ्याे, ६ महिनामा ४ खर्ब ५ अर्बको काराेबार

वीरगञ्ज भन्सारबाट वैदेशिक व्यापार ७६ प्रतिशतले बढ्याे, ६ महिनामा ४ खर्ब ५ अर्बको काराेबार


मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिमा ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ।

चालू वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिने अवधिमा यो नाकाबाट वैदेशिक व्यापार ४ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको भन्सारले बताएको छ। यो अघिल्लो आव २०७७/७८ को पहिलो ६ महिनाभन्दा ७६ प्रतिशत बढी हो।

अघिल्लो आवको सोही अवधिमा २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। अघिल्लो वर्ष कोरोना महामारीले असोजपछि बजार खुलेको र बजार स्वाभाविक लयमा फर्किन समय लागेकाले व्यापार खुम्चिएको थियो। चालू वर्ष बजार स्वाभाविकरूपमा वृद्धि भएकाले व्यापार ह्वात्तै बढेको भन्सार अधिकारीहरू बताउँछन् ।

चालू आवको ६ महिनामा ३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ। आयात व्यापार ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ। अघिल्लो वर्ष समीक्षा अवधिमा २ खर्ब १० अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको थियाे।

यो नाकाबाट मुख्य रूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयात हुन्छ ।

वीरगञ्ज भन्सार हुँदै ६ महिनामा ५५ अर्ब रुपैयाँ बराबरको वस्तु निकासी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। यो नाकाबाट निकासी व्यापारमा यो वर्ष उल्लेख्य सुधार आएको छ । ‘गत आवको साउनदेखि पुससम्म १९ अर्ब रुपैयाँको निर्यात भएको थियो। वीरगञ्जबाट प्रशोधित तेल, कपडा, जुस, गलैंचालगायत वस्तु निकासी हुन्छन्,’ पौडेलले भने ।

वीरगञ्ज भन्सार कार्यालयमार्फत भएको वैदेशिक व्यापारबाट करिब ३ खर्ब व्यापारघाटा देखिएको छ। चालू वर्षको पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट मात्रै २ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएको छ।

यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ५४ प्रतिशत बढी हो। त्यसबेला यो आकार १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै थियो।अभियान दैनिकबाट

Logo