अखाद्य मह भेटिएपछि देशैभरका मह उद्योगमा विभागकाे निगरानी

अखाद्य मह भेटिएपछि देशैभरका मह उद्योगमा विभागकाे निगरानी


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशैभरका मह उद्योग निगरानीमा राखेको छ। बजारमा बिक्री भइरहेको महको गुणस्तर परीक्षण विभागले सुरु गरेको छ। मिसावट भएका मह बजारमा बिक्री वितरण हुन थालेपछि विभागले आइतबार माताहतका सबै कार्यालयहरुलाई परित्रप जारी गर्दै अनुगमन र गुणस्तर परीक्षण गर्न निर्देशन दिएको हो।

बजारमा बिक्री भइरहेका सबै प्रकारका मह परीक्षण गरेर १० दिनभित्रमा विभागमा प्रतिवेदन पठाउन मातहतका कार्यालयहरुलाई निर्देशन गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

'महमा मिसावट गरेर बिक्री हुन थालेपछि आजदेखि हामीले मातहतका सबै कार्यालयहरुलाई अनुगमन गर्न निर्देशन गरेका छौं,' प्रवक्ता महर्जनले कान्तिपुरसित भने,' ४३ वटै कार्यालयहरुलाई सूचना जारी गरेर अनुगमन गरेर १० दिनभित्रमा रिपोर्टिङ गर्न सर्कुलर गरेका छौं ।'

विभागले आइतबार ललितपुरको दुई वटा उद्योगमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा ती उद्योगहरु सामान्य अवस्था रहेको र उत्पादन भएको अवस्थामा नरहेको खाद्य निरीक्षक विजन श्रेष्ठले जानकारी दिए। विभागको टोलीले विभिन्न ब्रान्डका ४ वटा उद्योगहरुले प्रशोधन गरेका महहरुको नमूना (स्याम्पल) पनि परीक्षणका लागि ल्याएको छ।

'आज हामीले जम्मा ४ वटा नमुना ल्याएका छौं । हाम्रै ल्याबमा यसको परीक्षण गरेपछि चाँडै नै रिपोर्ट सार्वजनिक गर्छौं,' श्रेष्ठले भने । ललितपुरका मह उद्योगहरुले गोदावरी र अन्य जिल्लाहरुबाट ल्याइएका कच्चा महलाई प्रशोधन गरी प्याकेजिङ गरेर बिक्री वितरण गर्छन्। विभागले महमा मिसावट गरेको पाइएमा खाद्य ऐन २०२३ को दफा ५ बमोजिम कारबाही हुने जनाएको छ।कान्तिपुरबाट

Logo