सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या उस्तै

सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या उस्तै


कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ। आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहजरूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो। ”

औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो। सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ। सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन्।

नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ। उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन्।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले कोभिड–१९ सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको स्वीकार गर्नुभयो तर पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उहाँको दाबी छ।

अध्यक्ष पाण्डेले सरकारी कम्पनीका अतिरिक्त स्वदेशी निजी ३०/३२ वटा कम्पनीले पारासिटामोल उत्पादन गर्ने गरेको र पछिल्लो तीन दिनयता ५० लाख ट्ब्यालेट पारासिटामोल बजारमा पठाइसकेको र औषधिको अद्यावधिक अवस्था औषधि व्यवस्था विभागलाई उपलब्ध गराइरहेको जानकारी दिनुभयो।गाेरखापत्रबाट

Logo