अधिकांश वाणिज्य बैंकको खराब कर्जा घट्यो, पाँच बैंकको बढ्यो

अधिकांश वाणिज्य बैंकको खराब कर्जा घट्यो, पाँच बैंकको बढ्यो


कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन्। चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन्।

२७ वटा वाणिज्य बैंकमध्ये २१ वटा बैंक खराब कर्जा घटाउन सफल भएका छन्। सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ। यो बैंकले गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १ दशमलव ५४ विन्दुले खराब कर्जा घटाउन सफल भएको छ। चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा घटेर शून्य दशमलव ३७ प्रतिशत कायम भएको छ। गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा १ दशमलव ९१ प्रतिशत थियो।

खराब कर्जा घटाउनेमा दोस्रो स्थानमा हिमालयन बैंक लिमिटेड रहेको छ। गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा यो बैंकको खराब कर्जा १ दशमलव ४१ विन्दुले घटेर चालू आवको दोस्रो त्रैमाससम्ममा शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ। खराब कर्जा बढी घटाउने तेस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १ दशमलव १७ विन्दुले घटाउन सफल भएको छ। यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ।

सबैभन्दा बढी खराब कर्जा सरकारी बैंकको
चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी खराब कर्जा हुने शीर्ष स्थानमा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंक रहेका छन्। यस अवधिसम्ममा सबैभन्दा बढी खराब कर्जा हुने सरकारी बैंक पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक, दोस्रो स्थानमा कृषि विकास बैंक र चौथो स्थानमा नेपाल बैंक रहेको छ।

बढी खराब कर्जा हुने तेस्रो स्थानमा भने निजीक्षेत्रबाट सञ्चालित नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ।

चालू आवको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ दशमलव शून्य ६ प्रतिशत रहेको छ। त्यसैगरी कृषि विकास बैंकको २ दशमलव शून्य ८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २ दशमलव शून्य ६ प्रतिशत र नेपाल बैंकको १ दशमलव ९१ प्रतिशत खराब कर्जा रहेको छ। १५ वटा वाणिज्य बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि छ। यीमध्ये तीनवटाको खराब कर्जा २ प्रतिशतभन्दा माथि छ।

सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआईको
गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा खराब कर्जा शून्य दशमलव शून्य ५ विन्दुले घटाउन सफल भएको नेपाल एसबीआई बैंकको चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम खराब कर्जा रहेको छ। चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा शून्य दशमलव १४ प्रतिशत कायम भएको छ। त्यस्तै खराब कर्जा कम भएको बैंकको दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक रहेका छन्। चालू आवको दोस्रो त्रैमाससम्ममा खराब कर्जा एभरेष्ट बैंकको शून्य दशमलव २६ प्रतिशत र सानिमा बैंकको शून्य दशमलव ३१ प्रतिशत कायम भएको छ।

पाँच वाणिज्य बैंकको खराब कर्जा बढ्यो
गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भइरहँदा नबिल, सनराइज, लक्ष्मी, एनआईसी एशिया र एभरेष्ट बैंक भने खराब कर्जा वृद्धि हुने सूचीमा रहेका छन्।

गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नबिल बैंकको शून्य दशमलव ५१ विन्दुले खराब कर्जा वृद्धि भएको छ। यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्म १ दशमलव ११ प्रतिशत पुगेको छ।

त्यस्तै खराब कर्जा बढ्ने दोस्रो स्थानमा रहेको सनराइज बैंकको शून्य दशमलव ३५ विन्दुले, तेस्रो स्थानमा रहेका लक्ष्मी र एभरेष्ट बैंकको बराबरी शून्य दशमलव शून्य ७ विन्दुले र चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकको शून्य दशमलव शून्य ४ विन्दुले खराब कर्जा वृद्धि भएको छ। चालू आवको दोस्रो त्रैमाससम्म खराब कर्जा बढेर लक्ष्मी बैंकको शून्य दशमलव ८३ प्रतिशत, एभरेष्ट बैंकको शून्य दशमलव २६ र एनआईसी एशिया बैंकको शून्य दशमलव ४७ प्रतिशत कायम भएको छ।

कुमारी बैंकले भने खराब कर्जा स्थिर राख्न सफल भएको छ। यो बैंकको गत आवको दोस्रो त्रैमाससम्म खराब कर्जा १ दशमलव शून्य ६ प्रतिशत थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा पनि १ दशमलव शून्य ६ प्रतिशत कायम राख्न सफल भएको छ।अभियान दैनिकबाट

Logo