अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा नियन्त्रणमा

अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा नियन्त्रणमा


समग्रमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) औसतमा नियन्त्रणमा आएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको एनपीएल वार्षिक ०.५५ प्रतिशत बिन्दुले घटेर १.१३ प्रतिशतमा सीमित छ। गत वर्षको पुसमा औसत १.६८ प्रतिशत थियो।

यस अवधिमा २१ वटा बैंकको निष्क्रिय कर्जा (नन् परफर्मिङ लोन) नियन्त्रणमा आएको छ। यसमध्ये ५ वटा बैंक (नबिल, सनराइज, लक्ष्मी, एभरेस्ट र एनआईसी एसिया बैंक)को एनपीएल भने गत वर्षको तुलनामा बढेको छ। तर कुमारी बैंकको भने एनपीएल स्थिर रहेको छ। चालू आवको ६ महिनामा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको छ। समग्रमा यो बैंकको एनपीएल उच्च देखिए पनि गत वर्षको भन्दा केही सुधार भएको छ। सो बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ दशमलव २३ प्रतिशतमा रहेको एनपीएलमा १.१७ प्रतिशत बिन्दुले घटेर सुधार भएको छ।

यसपछि अहिले ३.०६ प्रतिशतमा सीमित छ। जबकि कुनै बेला सरकारी स्वामित्वका बैंकहरूमा ऋणीबाट कर्जा असुल नहुँदा एनपीएल अधिक हुने गरेको थियो। यद्यपि अहिले धेरै हदसम्म नियन्त्रणमा आएको छ। यसैक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकका पुराना ऋणीहरू नै धेरै भएकाले पनि समग्र बैंकमध्ये निष्क्रिय कर्जा अधिक देखिएको बताए। यद्यपि पछिल्लो समय त्यस्ता पुराना ऋणीहरूको सेटलमेन्ट गरिएकाले निष्क्रिय कर्जा नियन्त्रण हुँदै गएको उनको तर्क छ। ‘यसबीच कोभिड प्रभावितलाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गरियो। यससँगै कतिपय ऋण असुली गरेकाले पनि गत वर्षको पुसको तुलनामा १.१७ प्रतिशत बिन्दुले एनपीएल नियन्त्रणमा आएको हो’, श्रेष्ठले भने।

यसपछि धेरै एनपीएल भएको दोस्रो बैंक पनि सरकारी स्वामित्वकै कृषि विकास बैंक हो। सो बैंकको २.०८ प्रतिशत एनपीएल छ। तर यो गत वर्षको भन्दा शून्य १.०६ प्रतिशत बिन्दुले भने नियन्त्रणमा आएको छ। किनभने गत आवको उक्त अवधिमा एनपीएल ३.१४ प्रतिशत थियो। यसपछि नेपाल इन्भेस्टमेन्टको एनपीएल ०.६९ प्रतिशत बिन्दुले घटेर २.०६ प्रतिशतमा सीमित छ। यसैगरी, अर्को सरकारी स्वामित्वको नेपाल बैंकको एनपीएल गत वर्षको तुलनामा ०.९७ प्रतिशत बिन्दुले घटेर १.९१ प्रतिशतमा झरेको छ।

एनपीएल नियन्त्रणमा आएर २ प्रतिशतभन्दा कम १ प्रतिशतभन्दा माथि हुनेमा सिटिजन्स बैंक, नेपाल बंगलादेश, एनएमबी, सनराइज, नेपाल क्रेडिट एन्ड कमर्स, सेन्चुरी, प्रभु, ग्लोबल आईएमई, नबिल, कुमारी र मेगा बैंक रहेका छन्। यस्तै, करिब एक दर्जन बैंकले एक प्रतिशतभन्दा कम एनपीएल कायम राख्न सफल भएका छन्। 

यसअन्तर्गत सिभिल, लक्ष्मी, बैंक अफ काठमाडौं, प्राइम, हिमालयन, माछापुच्छ्रे, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, एभरेस्ट र नेपाल एसबीआई छन्। वाणिज्य बैंकमध्ये नेपाल एसबीआईको भने सबैभन्दा कम एनपीएल ०.१४ प्रतिशत छ। सो बैंकले समयमा कर्जाको ब्याज, सावाँ असुली गर्न सफल हुँदा एनपीएल कम भएको अनुमान गर्न सकिन्छ।

गत वर्षको पुसको तुलनामा पाँच बैंकले निष्क्रिय कर्जामा नियन्त्रण गर्न सकेका छैनन्। यस अवधिमा नबिल बैंकको निष्क्रिय कर्जा बढेको छ। गत पुसमा ०.६० प्रतिशत एनपीएल भएको सो बैंकको ०.५१ प्रतिशत बिन्दुले बढेर १.११ प्रतिशतसम्म पुगेको छ। फाइनान्स कम्पनीको पोर्टफोलियो बढी भएकाले त्यस्ता कम्पनीको कहिलेकाहीँ नवीकरण नहुने भएकाले एनपीएल बढी देखिएको नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिए।

दुई वर्षदेखि कोभिडको प्रभाव समग्र व्यवसायमा परिरहँदा कर्जाको ब्याज तथा किस्ता भुक्तानीमा समस्या आयो। पुनर्तालिकीकरणको व्यवस्था हटाइसकेको छ। ‘यो व्यवस्था नल्याएको भए एनपीएल बढ्थ्यो। जसले ५ अर्ब बराबरको पुनर्तालिकीकरण गर्‍यौं ’, उनले भने।अन्नपूर्णपाेस्टबाट

Logo