‘बैंकिङ क्षेत्रमा निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी’

‘बैंकिङ क्षेत्रमा निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी’


नेपाली बैंकिङ क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर निक्षेप वृद्धिदरको तुलनामा बढी देखिएको छ। निक्षेप वृद्धिदरको तुलनामा कर्जा प्रवाहको वार्षिक वृद्धिदर हरेक वर्ष बढी भएको देखिएको हाे। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गरेको एक अध्ययनअनुसार २०७० यता आव २०७६/७७ मा बाहेक हरेक वर्ष कर्जाको वृद्धिदर निक्षेप संकलनको तुलनामा बढी देखिएको छ।

आव २०६९/७० मा १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह २१ प्रतिशतले बढेको थियो। यस्तै, गत आव २०७७/७८ पनि २१ प्रतिशतले निक्षेप संकलन बढ्दा कर्जा प्रवाहको वृद्धिदर भने २८ प्रतिशत थियो। आव २०७६/७७ बाहेक कर्जा वृद्धिदर र निक्षेप वृद्धिदरको अवस्था यस्तै नै रहेको अध्ययनले देखाएको छ।

आव २०७६/७७ मा भने कर्जाको वृद्धिदर कम देखिएको छ। त्यो वर्ष १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह भने १२ प्रतिशत मात्रै छ। त्यस आर्थिक वर्षमा कोरोना नियन्त्रण गर्न बन्दाबन्दी लगाउँदा कर्जा प्रवाहमा संकुचन आएको हो।

यसरी हरेक वर्षजसो निक्षेप संकलनभन्दा कर्जाको वृद्धिदर निरन्तर बढी हुनुको कारण अर्थतन्त्रको विस्तार भएको हो भन्ने विज्ञहरूको विश्लेषण रहेको छ। बैंकहरूले बढी आक्रामक भएर ऋण लगानी बढाउँदा पनि यस्तो देखिएको उनीहरूको भनाइ छ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले कर्जाको प्रवाह बढ्नु राम्रो पक्ष भएको बताए। ‘कर्जा प्रवाह जुन रूपमा बढेको छ, त्यसले अर्थतन्त्र विस्तार हुँदै गएको पुष्टि गर्छ,’ उनले भने, ‘तर, त्यसअनुसार निक्षेप नबढ्नु भने समस्याको विषय हो। निक्षेप नबढ्दा अर्थतन्त्र विस्तारका लागि पर्याप्त मात्रामा स्रोत नै पुगेको छैन। साथै, अन्य विभिन्न समस्या पनि देखिन थालेको छ।

यसतर्फ भने ध्यान दिनु आवश्यक छ।’ यही अनुपातमा कर्जा र निक्षेपको वृद्धिदर अगाडि बढेमा बैंकहरूलाई आगामी दिनमा तरलता व्यवस्थापन गर्न चुनौती हुने उनको भनाइ छ।

उपभोग्य क्षेत्रमा बढी कर्जा प्रवाह हुँदा निक्षेप बढ्न नसकेको उनले बताए। बैंकबाट प्रवाह भएको कर्जा निश्चित चक्र पूरा गरेर पुनः बैंकमा निक्षेपका रूपमा आउँछ। फलस्वरूप बैंकहरूलाई कर्जा र निक्षेपको अनुपातलाई सन्तुलन राख्न मद्दत पुग्छ।

कर्जा प्रवाह गर्ने मामलामा स्वयं बैंक तथा वित्तिय संस्था, व्यापारीहरू संयमित हुनुपर्ने उनले बताए। ‘त्यो भएन भने राष्ट्र बैंकले नै नीति ल्याएर कर्जा प्रवाहलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘विशेषगरि उपभोग्य क्षेत्रमा हुने कर्जा प्रवाहलाई निरुत्साहित गरेर उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने काम गर्नुपर्छ।’

पछिल्लो समय निक्षेप आउने क्षेत्रहरूको विस्तार भएको छ। हरेकजसो वर्ष नेपालीहरूको प्रतिव्यक्ति आम्दानी बढेको छ। व्यवसायिक संघसंस्थाहरूको कारोबार र नाफा बढेको छ। सरकारी तथा निजीक्षेत्रमा काम गर्ने कर्मचारीको तलब पनि बढ्दो क्रममा नै छ। विप्रेषण आप्रवाह पनि बढेको नै देखिन्छ। त्यो अवस्थामा पनि निक्षेपमा सुधार नआउनु बहसको विषय भएको भट्टराई बताउँछन्।

यही अवस्था कायम भएमा अबका दिनमा कर्जाको माग धान्न चुनौती हुने उनको भनाइ छ। ‘यही अवधिमा बैंकहरूको चुक्तापूँजी बढाइएको थियो र कर्जाको मागलाई धान्न सहज भयो। तर, अबका दिनमा कर्जाको माग धान्न साच्चै नै चुनौती हुने देखिन्छ,’ उनले भने।

माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइराला पनि पछिल्लो समय कर्जाको माग बढेको बताउँछन् । तर, निक्षेप नबढ्दा त्यसलाई पूर्ति गर्न चुनौती भइरहेको उनको भनाइ छ।अभियान दैनिकबाट

Logo