साउदी अरबमा एक वर्षमा २२४ नेपाली श्रमिकले ज्यान गुमाए

साउदी अरबमा एक वर्षमा २२४ नेपाली श्रमिकले ज्यान गुमाए


साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन्। सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ। ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ।

दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ। विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा ‘फलोअप’ भइरहेको छ। अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ। २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ।

३४ महिलाको उद्धार
यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उद्धार गरिएको छ। साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाइएको हो। समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ती महिलालाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरिएको हो ।

यस्तै दूतावासले साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बस्दै आएका ह्विलचियर प्रयोगकर्ता वेदबहादुर भुजेलले अस्पताललाई तिर्नुपर्ने आठ लाख २३ हजार साउदी रियाल अर्थात् करिब अढाई करोड रुपियाँ अस्पतालबाट मिनाहा गराएको जनाएको छ। उनलाई अस्पतालमा तिर्नुपर्ने रकम मिनाहा गराई नेपाल पठाइएको छ। भुजेलले अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन पाएका थिएनन्।गाेरखापत्रबाट

Logo