आयोगद्वारा मतपत्रमा दलीय रोलक्रम तय, ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

आयोगद्वारा मतपत्रमा दलीय रोलक्रम तय, ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो


वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ। यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ। आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ।’ भन्ने उल्लेख छ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो। यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन्।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था उल्लेख छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न कायम हुने जानकारी दिए।

‘आयोगले मतपत्रमा चुनाव चिह्न राख्दा दल हेर्दैन, कानुन हेर्छ, कानुनअनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा मतपत्रमा चुनाव चिह्न कायम हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

दलहरूबीचमा मतपत्रमा चुनाव चिह्न राख्ने विषयमा विवाद हुने गरेपछि २०७३ सालमा निर्वाचनसम्बन्धी कानुन बनाउँदा समानुपातिकतर्फ दलले प्राप्त गरेको मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था गरिएको थियो ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत पाएको थियो। एमालेले ३१ लाख ७३ हजार ४९४ मत समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको थियो।

यसैगरी, कांग्रेसले दोस्रो बन्दै ३१ लाख २८ हजार ३८९ मत पाएको थियो भने माओवादी केन्द्रले आफ्नो चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको थियो।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले छाता चिह्नमा ४ लाख ७२ हजार २५४ मत पाएको थियो भने संघीय समाजवादी फोरम नेपालको चिह्न हातले समातेको मसालमा ४ लाख ७० हजार २०१, विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६४, राप्रपाले गाईमा १ लाख ९६ हजार ७८२, राप्रपा प्रजातान्त्रिकले गोलाकारभित्रको हलोमा ८८ हजार ३७७, नयाँ शक्ति पार्टीले देब्रे आँखामा ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले गिलासमा ६२ हजार १३३ मत प्राप्त गरेको थियो।राजधानी दैनिकबाट

Logo