विदेशी पर्यटककाे संख्या १६० प्रतिशतले बढ्याे

विदेशी पर्यटककाे संख्या १६० प्रतिशतले बढ्याे


कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तग्रिँदै गएको छ। सन् २०२२ को पहिलो चौमासिकमा पर्यटक आवागमन अघिल्लो वर्षको सोही अवधिभन्दा १६० प्रतिशतले बढेको छ। अप्रिलमा मात्रै हवाइमार्गबाट ५८ हजार ३ सय पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०१९ को तुलनामा ५३ प्रतिशत बढी हो।  

कोभिड महामारी नियन्त्रणतिर जानु, करिब ९० प्रतिशत नेपालीले कोरोनाविरुद्धको खोप लगाइसक्नु जस्ता कारणले गर्दा पर्यटनमा सुधार भएको पर्यटन बोर्डले जनाएको छ। २०२० देखि अड्किएका पर्यटक आउन थालेको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए। उनका अनुसार अहिले विश्व बजारमा रिभेन्च टुरिजम (प्रतिशोध भ्रमण) को प्रवृत्ति देखिन्छ। 

दुई वर्ष घरमा थुनिएका पर्यटक बाहिर निस्किन आतुर भएकाले पर्यटनमा थप सुधार हुँदै जाने लामिछानेको भनाइ छ। हालकै अवस्थामा पर्यटक आए २०२३ सम्ममा पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्कने बोर्डले जनाएको छ। अप्रिलमा २२ हजार ४ सय ७७ भारतीय पर्यटक नेपाल आएका छन्। चीनबाट आउनेको संख्या २ सय ३१ मा सीमित भएको छ। भारत, अमेरिका, क्यानडा, फ्रान्स, बेलायत, अस्ट्रेलियाबाट धेरै पर्यटक आएका छन्। यी नेपालका पुरानै गन्तव्य मुलुक हुन्। ‘बोर्डले आयोजना गरेका मेला, गोष्ठी, सामाजिक प्लाटफर्ममा प्रचारप्रसारका कार्यक्रमले पर्यटन सुधार्न ठूलो भूमिका खेलेको छ,’ लामिछानेले भने।

पर्यटक संख्या बढेसँगै होटल पनि भरिभराउ हुन थालेको छन्। आन्तरिक पर्यटनले धानेको होटल उद्योगमा अहिले आन्तरिक र बाह्य पर्यटक ५०/५० प्रतिशतको अनुपातमा रहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। सगरमाथा आरोहण गर्नका लागि २०२२ को पहिलो सिजनमा ३१२ जनाले अनुमति लिएका छन्। वसन्त ऋतुमा करिब नौ सय जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको र त्यसबाट करिब ४७ करोड रुपैयाँ रोयल्टी उठेको पर्यटन विभागका पर्वतारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए। २०२१ को अप्रिलसम्म भने ५३ करोड उठेको थियो। 

डेढ खर्ब विदेशी मुद्रा गुम्यो 
कोभिडका कारण दुई वर्षमा पर्यटन क्षेत्रबाट करिब डेढ खर्ब रुपैयाँ विदेशी मुद्रा गुमेको छ। पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमध्येमा पर्छ। वार्षिक करिब ८६ अर्ब डलर विदेशी मुद्रा पर्यटनबाट भित्रिन्छ। पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ७.५ प्रतिशत योगदान गर्ने सरकारी तथ्यांक छ। कोभिडका कारण पाँच लाख पर्यटन मजदुर विस्थापित भएको पर्यटन पुनरोत्थान प्राविधिक समितिका संयोजक राजाराम गिरीले जानकारी दिए।अन्नपूर्ण पाेस्टबाट

Logo