३५ लाख थान पाठ्यपुस्तक छपाई हुन बाँकी

३५ लाख थान पाठ्यपुस्तक छपाई हुन बाँकी


नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । 

जनक शिक्षा सामग्री केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने थियो । समयमै कागज आपूर्ति नहुँदा १ करोड ६३ लाख थान पुस्तक मात्रै छपाइ सम्भव भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस-युक्रेनबीचको द्वन्द्वका कारण कागज अभाव हुँदा समयमै पुस्तक छाप्न नसकिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार गरेको छलफलमा उनले स्थानीय तह चुनावको मतपत्र छपाइको असर पाठ्यपुस्तक छपाइमा परेको बताए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले छपाइ र ढुवानी सँगसँगै गरेर यथाशक्य छिटो पुस्तक पुर्‍याउने बताइन् । बैठकमा सांसद योगेश भट्टराईले भने जनक शिक्षा र शिक्षा मन्त्रालयले छाप्न बाँकी पुस्तकको तथ्यांक लुकाएको आरोप लगाए । पुस्तक विक्रेताहरूले पनि जनक शिक्षाले यकिन तथ्यांक उपलब्ध नगराएको र ३५ लाखभन्दा बढी पुस्तक छाप्न बाँकी रहेको जनाएका छन् ।

एक महिनाभित्र पुस्तक छापिसक्न र छापिएका पुस्तक तत्काल विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । जनक शिक्षाले दैनिक ८० हजार र प्रज्ञा प्रतिष्ठानले २५ हजार गरेर असार पहिलो सातासम्म छपाइ सकिने केन्द्रका प्रबन्ध निर्देशक झाले बताए ।

उनका अनुसार पुस्तक छपाइका लागि प्रज्ञा प्रतिष्ठानसँग सम्झौता भइसकेको छ । आगामी वर्ष पुस्तक अभाव हुन नदिन मंसिररपुससम्म कागज खरिद गरिसक्ने र ३ वटा छपाइ मेसिन थप गर्ने सम्झौता अघि बढेको पनि उनले बताए ।

कान्तिपुरबाट
 

Skip This
Logo