यस वर्ष मल नल्याएको सरकारले अर्को वर्षलाई बजेट नै आधा घटायो

यस वर्ष मल नल्याएको सरकारले अर्को वर्षलाई बजेट नै आधा घटायो


आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् । 

तर, गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै मल खरिद नगर्दा यसपालि गोदाम खाली छन् भने किसान चिन्तामा छन् । त्यसमाथि अर्थमन्त्रीले आगामी वर्षका लागि रासायनिक मलको बजेट झन्डै ५० प्रतिशतले घटाइदिएका छन् ।

बजेटको भाषामा किसानका लागि अनेक आकर्षक कार्यक्रम घोषणा गरिएको छ । बजेटलाई पत्याउने हो भने आगामी वर्षदेखि किसानले घरदैलोमै सरल र सहज रूपले कर्जा पाउनेछन् । त्यसका लागि लाख, करोड, अर्ब होइन ५ खर्ब बराबरको एक कोष स्थापना गरिनेछ । 

यतिमात्रै होइन, आगामी वर्षबाट योगदानमा आधारित किसान पेन्सन योजना सुरु हुनेछ । यो सुविधाबाट किसान लाभान्वित हुन्छन् वा हुँदैनन्, आगामी वर्षमात्रै थाहा हुनेछ, तर न्यूनतम बजेट पनि आधा घटाइएकाले किसानले रासायनिक मल भने नपाउने भएका छन् ।

बजेटले आगामी वर्ष धान, मकै, गहुँ, तरकारी र फलफूलको स्वदेशी उत्पादन बढाएर यी वस्तुको आयात न्यूनतम पनि ३० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरणअनुसार वर्षमा २र३ बाली लगाउँदा वार्षिक १२ लाख मेट्रिक टन मल आवश्यक पर्छ । तर, व्यवहारमा त्यसको आधा परिमाणमा पनि मल अहिलेसम्म आयात भएको छैन । यसपालि त खरिदको निर्णय नै ढिला भएकाले मल कहिले र कहाँबाट आउने भन्ने निश्चित छैन ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिटन डीएपी करिब १२ सय डलर र युरिया करिब ८२० डलरमा कारोबार भइरहेको छ । पूर्वकृषि सचिव योगेन्द्र कार्कीका अनुसार धान गहुँकै लागि मात्रै साढे ४ लाख टन मल ल्याउन करिब ३५ अर्ब बजेट आवश्यक हुन्छ । तर, गत २७ अर्ब निकासा दिएको सरकारले आगामी वर्षका लागि १५ अर्ब मात्र छुट्याइएको छ । 

अर्का पूर्वकृषि सचिव कृष्ण आचार्य पनि आगामी वर्ष बजेटकै कारण मल आपूर्तिमा समस्या हुने बताउँछन् । सरकारले चालु आर्थिक वर्ष ९२०७८र७९० मा मल किन्न २९ अर्ब विनियोजन गरेको थियो भने विभिन्न समयमा गरी कुल २७ अर्ब ७१ करोड बजेट दिएको थियो । तर पनि समयमा मल नआउँदा धान रोप्ने बेलामा किसानले सास्ती खेप्नुपर्ने निश्चितजस्तै भएको छ ।

हालसम्म करिब डेढ लाख टन मात्र खरिद भएको छ । कोभिडपश्चात् रुस र युक्रेनबीच युद्धले कच्चा पदार्थको मूल्य अकासिएको छ । मूल्य बढ्दा कतिपय मुलुकले मल उत्पादन कटौती गरेका छन् । चीनले पनि निर्यात बन्द गरेपछि आपूर्तिमा समस्या भएको मन्त्रालयको दाबी छ । तर, अहिलेसम्म निर्णायक कदम लिन सकेको छैन ।

कान्तिपुरबाट

Logo