चीनबाट खरिद गरिएको ५० टन युरिया तातोपानी नाकामा थन्कियो

चीनबाट खरिद गरिएको ५० टन युरिया तातोपानी नाकामा थन्कियो


चीनबाट खरिद गरिएको ५० टन युरिया मल तातोपानी नाकामा थन्किएको छ । 

किसानले मल अभावमा धानको ब्याड राख्न नपाएको बेला उत्तरी तातोपानी नाकामा भने चीनबाट खरिद गरिएको ५० टन युरिया २० दिनदेखि थन्किएको हो । भोटेकोशी गाउँपालिका-२ स्थित तातोपानी सुक्खा बन्दरगाहको गोदाममा ५० टन युरिया -५० कन्टेनर मल थन्किएको हो ।

भन्सार प्रक्रियाका लागि कोही नआउँदा मल गोदाममै रोकिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘यसअघि सामान आए लगत्तै भन्सार प्रक्रिया सकेर काठमाडौं लगिने गरिए पनि २० दिनअघि भित्रिएको ५० कन्टेनर युरिया लिन कम्पनीका प्रतिनिधि अझै आनआएका कारण रोकिएको उनको भनाई छ ।

मल आयातको ठेक्का पाएको सिल्क ट्रान्सपोर्टले यसअघि ५ सय ३९ मेट्रिक टन तातोपानी नाका हुँदै काठमाडौं पुर्‍याएको थियो । ६० दिनभित्र मल लिन नआए भन्सार नियमअनुसार सामान जफत हुने प्रावधान रहेको र यसबारे सम्बन्धित कम्पनीलाई मौखिक जानकारी दिएको पनि उनको भनाइ छ ।

ग्लोबल टेन्डरपछि सरकारले सिल्क ट्रान्सपोर्ट कम्पनीलाई चीनबाट १० हजार मेट्रिक टन मल आयातको ठेक्का दिएको थियो । ठेक्का पाएको कम्पनीको आन्तरिक विवादका कारण भन्सारमा आइपुगेको मल ल्याउन ढिलाइ भइरहेको स्रोतको भनाइ छ । तातोपानी नाकामा मल थन्किएको बारे सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले शुक्रबार थप मल पनि भित्रिने भएकाले विस्तृत विवरण बुझिसकेपछि मात्रै ढुवानीबारे भन्न सकिने बताए । 
कान्तिपुरबाट

Logo