चोरी सिकारका आरोपित छुटे, सिकारी कुकुर तीन महिनादेखि थुनामा

चोरी सिकारका आरोपित छुटे, सिकारी कुकुर तीन महिनादेखि थुनामा


डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ ।

घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको कुकुर तीन महिनादेखि थुनामा रहेकाे हाे । गत चैत १४ मा मुगुम कार्मारोङ-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन टासी र छिमेक तामाङ समातिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलाएकोमा अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। टासी र छिमेक साधारण तारेखमा छुटेका छन् । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले त्यस विषयमा केही बोलेन । जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले भने, ‘चोरी सिकारीको मुद्दामा कुकुर भन्ने शब्द उल्लेख गरिएको छैन, कसरी आदेश दिने ?’ अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको हो ।

घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावाछोर्देनले बताएका छन् । उनले घोरल मारेको र घरनजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित ४ जनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आपतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महतारा बताउँछन् ।

वन कार्यालयमा पशुपन्छीलाई दाना खुवाउने भनेर बजेट छुट्याइएको हुन्छ, जसमा कुकुरबारे उल्लेख नभए पनि त्यही बजेटबाट कुकुरको खान्की पुर्‍याइएको छ । उनले भने, ‘सिकारी कुकुर भएकाले थुनामा समेत मासुभात खुवाउँदै राख्नुपरिरहेको छ ।’ वन्यजन्तुलाई हानिनोक्सानी पुर्‍याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । 
आजको कान्तिपुरबाट

Logo