निगमको छानबिन समितिका अध्यक्षलाई प्रतिवेदन रोक्न प्रलोभन

निगमको छानबिन समितिका अध्यक्षलाई प्रतिवेदन रोक्न प्रलोभन


नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामिनालगायतका आरोपमा आफूविरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएको खुलासा भको छ । 

अधिकारीले छानबिन प्रतिवेदन रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत दबाबसमेत दिएको खुलासा भएको हो । अधिकारीविरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा असार ६ मा समिति गठन गरेको थियो ।

समितिका अध्यक्ष न्यौपानेले आफूलाई अधिकारीले आर्थिक प्रलोभन दिनुका साथै पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत छानबिन प्रतिवेदन रोक्न दबाबसमेत दिएको खुलासा गरेको आजको कान्तिपुरमा प्रकासित छ। उनले कार्यकारी अध्यक्ष अधिकारीलाई जोगाउन पूर्वप्रधानमन्त्री खनालले फोन गरेर दबाब दिएको बताए । ‘तपाईं अब सचिवबाट रिटायर्ड हुने बेलामा पर्यटनमन्त्रीले भनेको किन मान्नुपर्‍यो भन्नुभयो,’ न्यौपानेले खनालको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं जाने बेलामा युवराजमाथि गरिरहनुभएको अध्ययन प्रतिवेदन रोकिदिनुहोस् ।’ 

सचिव न्यौपानेका अनुसार बयान दिँदा रोएर गएका अधिकारीले नेता झलनाथबाहेक अरू थुप्रै स्रोतबाट पनि फोन गरेर दबाब दिएका थिए । इलामका अधिकारीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आठ महिनाअघि अर्को व्यक्ति महाप्रबन्धक भएकै बेला झलनाथ खनालको दबाबमा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।

जाँचबुझ समितिले दबाबबीच २९ औं दिनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई सोमबार बुझाइसकेको छ । प्रतिवेदनले चारवटा जहाज किन्दा ५० अर्ब ऋणमा डुबेको निगमको नेतृत्व गर्न अधिकारी असफल रहेको विवरण पेस गर्दै आर्थिक र नैतिक रूपमा पनि पतित व्यक्ति रहेको निष्कर्ष निकालेको छ । 

पर्यटनमन्त्रीले प्रतिवेदन अध्ययन गरिरहेको उनको सचिवालयले जनाएको छ ।‘पर्यटनमन्त्रीलाई पनि झलनाथ खनालले फोन गरेर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जोगाउन दबाब दिएको समाचारमा जनाइएको छ । 

पर्यटनमन्त्रीलाई बुझाइएको प्रतिवेदनले अधिकारीलाई दोहामा ग्राउन्डेड भएको न्यारोबडीको इन्जिन मर्मत र ठेक्कामा बिचौलिया दीपक भट्टका साझेदार अभिषेक खातीलाई ४५ करोडको ठेक्का सम्झौताअघि नै गोप्य कागजात उपलब्ध गराएको, उक्त इन्जिन हालसम्म मर्मत गराउन नसकेको, सार्वजनिक प्रतिस्पर्धा नगराई जापान, हङकङलगायतका गन्तव्यको टिकट बिक्री गर्ने गरेको, निगमको टुइनअटर विमान समिट एयरमा कार्यरत कर्मचारीसँग मिलेमतोमा ट्राभल एजेन्सी खडा गरेर भाडामा दिएको थियो ।

निगमका करोडौंका नियमित ठेक्कासम्बन्धी कागजात सम्झौताअघि नै गोपनीयता भंग हुने गरी ठेकेदारलाई दिएको, टिकट बिक्री गर्ने अनलाइन प्रणाली ग्लोबल डिस्ट्रिब्युसन प्रणाली प्रदायक कम्पनीलाई दिँदा सार्वजनिक खरिद ऐन पालना नगराएको, कोभिडका बेला निगमले गरेका चार्टर उडानको बक्यौता रकम असुल्न नसकेको निष्कर्ष निकालेको छ । 

त्यस्तै निगमको कार्यकारी अध्यक्षजस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले उच्च व्यावसायिक चरित्र र पद अनुकूलको आचरणविपरीत पत्रकारका लागि भन्दै ठेकेदारसँग मदिरा मागेको, आफ्ना लागि कोट ल्याइदिन भनेको, अस्ट्रेलिया र चीनमा रहेका खातामा ठेकेदारलाई रकम जम्मा गर्न सूचना पठाएको, इकोनमी श्रेणीका टिकट लिएकालाई बिजनेस श्रेणीमा स्तरोन्नति गर्न लगाई निगमलाई हानि पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ । 

कार्यकारी अध्यक्ष अधिकारीले थुप्रै पदीय आचरणविपरीत कामहरू गरेको, निगमको ऋण तिर्न आनाकानी गरेको, निगमलाई वित्तीय हानि पर्ने गरी औचित्यबिना जम्बो टोली साउदीको रियाद लगेको, मन्त्रालयले दिएका संस्थागत निर्देशन पालना नगरेको, व्यवस्थापकीय बैठक बसाउन नसकेको कर्मचारीलाई मानसिक यातना दिएको, आफूनिकट एक जना महिला कर्मचारीलाई बढुवा गरिदिन्छु भनेर पहिल्यै म्यासेज पठाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै निगमका विभिन्न विनियम तथा प्रावधानविपरीत पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सीमा नाघ्ने गरी काम गरेको, ब्यागेज तथा कार्गो ह्यान्डलिङ गर्ने कार्यको बोलपत्र निश्चित कम्पनी मात्रै सहभागी हुन सक्ने गरी प्रस्ताव तयार पारेको पनि प्रतिवेदनमा औंल्याइएको छ । 
कान्तिपुरबाट

Logo