समयमै खोप लगाउन नसक्दा खेर जाँदै, डेढ लाख खोपको म्याद शनिबार सकियो

समयमै खोप लगाउन नसक्दा खेर जाँदै, डेढ लाख खोपको म्याद शनिबार सकियो


समयमै कोरोना विरुद्धको खोप लगाउन नसक्दा खोप खेर जान थालेको छ । 

खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो  । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वाग्मती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो, बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ ।

बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ । बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको छ । बुधबारदेखि शुक्रबारसम्म तीमध्ये कति खोप लगाइयो भन्ने तथ्यांक विभागसँग छैन ।

नेपालले हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ । यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ । कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ । विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेन ।

जिल्लाबाट विवरण नै आइनपुगेको विभागको भनाइ छ । विभागले उपलब्ध गराएको साउन ७ को तथ्यांकअनुसार सुदूरपश्चिमको बाजुरामा २ हजार ७ सय, कैलालीमा २ हजार २ सय ९०, कञ्चनपुरमा १ हजार ४ सय खोप मौज्दात छ ।

सुदूरपश्चिम प्रदेशमा कुल ८ हजार २ सय २० मात्रा खोप मौज्दात छ । कर्णालीको डोल्पामा १ हजार ९ सय ७०, सुर्खेतमा ९ हजार ७ सय ९०, कालीकोटमा १ हजार ५ सय ४०, जाजरकोटमा १ हजार २ सय, सल्यानमा ८ हजार ६ सय ७० खोप मौज्दात छ ।
कान्तिपुरबाट 

Logo