सेवाग्राही नआएपछि इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित

सेवाग्राही नआएपछि इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित


सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । 

आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब ३० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । यातायात व्यवस्था विभागका अनुसार नम्बर प्लेट जडान गर्न आउने सेवाग्राहीको सङ्ख्या निकै कम छ । यही अनुपातमा जडान गरिँदै जाने हो भने सम्झौता अवधिभित्र मुस्किलले ५० प्रतिशत सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान हुनेछ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “सेवाग्राही आउनेक्रम जारी छ तर भीड छैन । सेवाग्राहीको गति बढ्न सकेन ।”  हालसम्म दुई लाख १५ हजारप्रति इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । थप नम्बर प्लेटको माग आएपछि उत्पादन गरिने छ । कार्यालयबाट माग आएपछि कम्पनीले प्लेट उत्पादन गरी उपलब्ध गराउने गरेको छ । 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख मदन पोखरेलले हाल दैनिक १५० वटा निवेदन प्राप्त हुने गरेको जानकारी दिए। सेवाग्राही नहुँदा परियोजनाको उद्देश्य पूरा नहुने सम्भावना रहेको विभागका पदाधिकारीहरू बताउँछन् । इम्बोस्ड नम्बर प्लेट निर्माणका लागि २०७३ जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्नेगरी डेकाटुरसँग चार अर्ब ६७ करोड रुपियाँमा सम्झौता भएको थियो ।

हालसम्म ३४ करोड रुपियाँ विभागले भुक्तानी दिइसकेको छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेबापत विभागले दुईपाङ्ग्रे सवारीसाधनलाई दुई हजार पाँच सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क लिएको छ । 
गोरखापत्रबाट 

Logo