एसईई परीक्षाको तालिका सार्वजनिकः जेठ १३ गतेदेखि सुरु हुने

एसईई परीक्षाको तालिका सार्वजनिकः जेठ १३ गतेदेखि सुरु हुने


२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । आगामी एसईई भने परीक्षा बोर्डले नै लिनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदको निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ उल्लेख छ ।

गतवर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।

Logo