सर्वोच्चद्वारा संवैधानिक निकायमा नियुक्ति गर्नुको कारण पेस गर्न आदेश

सर्वोच्चद्वारा संवैधानिक निकायमा नियुक्ति गर्नुको कारण पेस गर्न आदेश


सभामुख अग्निप्रसाद सापकोटाद्वारा दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संवैधानिक निकायमा नियुक्त पाएका पदाधिकारीले तत्कालका लागि निर्वाधरुपमा आफ्नो कार्य अगाडि बढाउन पाएका छन् ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संवैधानिक निकायमा हालै नियुक्ति पाएका पदाधिकारीलाई कामकाज गर्नका लागि रोक लगाउन नपर्ने भनी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उनीहरुले आफ्नो कार्य अगाडि बढाउन पाएका हुन् । सभामुख सापकोटाले संवैधानिक निकायमा गैरकानुनीरुपमा नियुक्ति गरिएको उल्लेख गर्दै त्यसरी नियुक्ति पाएकालाई तत्काल काम गर्न रोक लगाउन माग गरी रिट निवेदन दायर गरेका थिए ।

सरकारले संवैधानिक निकायमा नियुक्ति गर्नका लागि केही महिना अघि संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी संवैधानिक परिषदमा तीन जना पदाधिकारी भए पनि बैठक बस्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था बमोजिम परिषद्को बैठक बसी संवैधानिक निकायहरुमा ३९ जना पदाधिकारी नियुक्तिको सिफारिस गरिएको थियो । सिफारिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइमा पेस गर्न नपाएपछि  माघ १८ गते सभामुख सापकोटाले सिफारिसको सक्कल फाइल संवैधानिक परिषदमा नै फिर्ता पठाइदिएका थिए । त्यसरी सक्कल फाइल पठाइएको भए पनि राष्ट्रपतिले विभिन्न संवैधानिक निकायमा ३९ पदाधिकारीलाई नियुक्ति दिएकी थिइन् ।

त्यसरी नियुक्ति दिएपछि सभामुख सापकोटाले गैरकानुनी नियुक्तिलाई बदर गर्न मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा आफू संवैधानिक परिषद्को सदस्य भए पनि नियुक्तिको सिफारिस गर्ने बेलामा बैठकको कुनै पनि जानकारी नदिइएको उल्लेख गरेका थिए । उनले गैरकानुनीरुपमा अध्यादेश जारी गरिएको पनि जनाएका थिए । सर्वोच्चले सभामुखले भने बमोजिम विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

सर्वोच्चले १५ दिनभित्र त्यस्तो कारण पेस गर्न आदेशमा भनेको छ । सर्वोच्चले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संवैधानिक परिषद्लगायतका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । रिट निवेदनमा नियुक्ति पाएका ३९ जनालाई पनि विपक्षी बनाइएको थियो । ती विपक्षीले पनि १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ ।नेपाल समाचारपत्रबाट

Logo