बाँकेको नरैनापुरमा आगलागीबाट १५० घर-गोठ नष्ट

बाँकेको नरैनापुरमा आगलागीबाट १५० घर-गोठ नष्ट


बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा डेढ सय घरगोठ जलेर नष्ट भएका छन्। घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो ३:३५ बजे आगलागीमा परी ३ जना घाइते भएका छन्। 

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। क्षतिको एकिन विवरण अझै संकलन भइसकेको छैन। आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिकाको एउटा र नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा दमकल घटनास्थल पुगेका थिए।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमी पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौं पटक हो। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नंं. २ मा १८, वडा नं.४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए। 

उनले भने, ‘धेरैका फुसको छानो भएको घर छन्। पानी नपरेर सुकेको छ। एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन्।’ गाउँपालिका अध्यक्ष शाहले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जालमार्फत अपिल पनि गरेका छन्। आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरिरहेका छन्।अन्नपूर्णबाट

Skip This
Logo