सरकारलाई अस्थिर बनाउने षडयन्त्र भएको मुख्यमन्त्री पोखरेलको आरोप

सरकारलाई अस्थिर बनाउने षडयन्त्र भएको मुख्यमन्त्री पोखरेलको आरोप


लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालु ७ औं अधिवेशनको ५ औं वैठकसँगै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। अब मंगलबार बैठक बसेपछि अधिवेशनको अन्त्य हुनेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिर बनाउने षडयन्त्र भएको भन्दै त्यसलाई असफल बनाउने दाबी गरेका छन्।

त्यस्तै सोमबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्रीय राजनीतिमा विकसित घटनाक्रम अनुसार प्रदेश सरकारलाई पनि अस्थिर बनाउने षडयन्त्र भएको भन्दै त्यसलाई असफल पारिने दाबी गरेका हुन्। केन्द्रीय राजनीतिमा जे सुकै परिवर्तन भए पनि प्रदेशमा सबै दल मिलेर जानुपर्छ भन्ने आफ्नो प्रयास रहेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो प्रयासलाई असफल बनाउन केन्द्रदेखिनै प्रयास भइरहेको उनको आरोप छ।

माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुप्रति लक्षित गर्दै उनले सरकारमा बसेर सरकारलाई कमजोर बनाउन नमिल्ने बताए। मुख्यमन्त्री पोखरेलले आफ्नो ३ वर्षे कार्यकालमा गरेका कामहरुको बारेमा प्रदेश सभालाई जानकारी गराएका थिए।

बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य अष्टभुजा पाठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम भ्रष्टाचारको अखडा भएको भन्दै त्यसको छानबिन गर्न माग गरे। नेकपा (माओवादी)का प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले बिगतमा कृषि मन्त्रालयमा भ्रष्टाचार भयो भनेर प्रदेश सभामा बोल्ने प्रदेश सभा सदस्यले अहिले भ्रष्टाचार भएको छैन भन्ने अभिव्यक्ति दिएको प्रति आश्चर्य व्यक्त गर्दै सरकारको सुगा बनेर प्रस्तुत नहुन प्रदेश सभा सदस्यहरुलाई आग्रह गरे।

नेकपा एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले भने सरकारले महत्वपूर्ण काम गरेको भन्दै सरकारको बचाउ गरे। बैठकमा प्रदेश सभा सदस्यहरु निर्मला क्षेत्री, दीपेश थारु, गीता थापा, कल्पना पाण्डे लम्साल, माला गोतामे, पुरमती ढेंगाले शून्य र बिशेष समय लिएर बोल्दै आगलागी, बाघ आतंक, सडक समस्या लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसैबीच प्रदेश सरकार परिवर्तनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच छलफल पनि सुरु भएको तर सार्थकता भइनसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरदिन खाँनले बताए।नेपाल समाचारपत्रबाट

Logo