सन्दर्भ आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : किन थालियो टोपी दिवस मनाउन ?

सन्दर्भ आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : किन थालियो टोपी दिवस मनाउन ?


नेपाल विविध जातजाति र वेशभूषा भएका मानिसहरुको साझा चौतारी हो । यहाँ बसोवास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्कने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसर्थ पनि सबैको पहिचान झल्कने पोशाक हुनु जरुरी एकातिर छँदैछ भने अर्कातिर नेपालमा गणतन्त्रको शुरुवातपछिका केहि वर्षमै नेपालीको राष्ट्रिय पोशाक हटाइएको छ । विना कारण कुनै पनि देशको राष्ट्रिय पोशाक हट्नु भनेको त्यो देशको मौलिक संस्कृति हट्नु हो, पहिचान हट्नु हो । अनि बहुसंख्यक नेपालीको आत्मसम्मानमा चोट पुग्नु पनि हो ।

बहुसंख्यक नागरिकको साझा पोशाकको रूपमा वर्षौंदेखि स्थापित भएर बसेको नेपाली पोशाक दौरा, सुरुवाल, ढाकाटोपी र गुन्युचोलीलाई एकाएक हटाएर हाम्रा राजनीतिक दलका नेताहरूले कुन फाइदा लुटे त्यो त उनीहरू नै जानून् तर उनीहरूले राष्ट्रिय पोशाकविहिन बनाएर हामी नेपालीहरूलाई टुहुरो चाहिँ बनाएरै छोडे ।

त्यसैले जन्म भयो नेपाली टोपी दिवसको । अनि त्यसको साइत जुर्यो अंग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी एक । किन जनवरी १ मा नै नेपाली टोपी दिवस त ? किन वैशाख १ गतेचाहिँ गरिएन त भनेर पनि प्रश्न उठ्ने गरेको छ । यसको पनि आफ्नै कारण छ । पछिल्ला दिनहरूमा नेपाली युवाहरूले नेपाली चार्डपर्वहरूलाई भुसुक्कै बिर्सिएका छन् । उनीहरू पश्चिमा संस्कृतिको अनुसरण गर्दै गर्दा नेपालीपन भुल्न पुगेको यथार्थ छर्लङ्गै छ । हामीहरू अंग्रेजी नयाँ वर्षमा ह्याप्पी न्यू एयर भन्न लजाउँदैनौं बरु नेपाली नयाँ वर्षको शुभकामना भन्न चाहिँ धक मान्छौँ । त्यसैले पनि हामी आज हरेक कुरामा पछि मात्रै परेका छैनौं, आफ्नै कारणले अरूबाट हेपिएका पनि छौं । यो हेपाइको अन्त्यका लागि र पश्चिमा संस्कृतिको पालना गरिरहेका बहुसंख्यक हाम्रा युवाहरूलाई जनवरी १ मा नेपाली पहिचान झल्कने खालका कार्यक्रमहरू पनि गर्न सकिन्छ है भनेर सन्देश दिने उद्देश्यले हामीले जनवरी एकलाई नै नेपाली टोपी दिवसका रूपमा छनोट गरेका हौँ ।

हुन त यस दिन धेरै संस्था, क्लब र व्यक्तिहरूले आआफ्नै तरिकाले राष्ट्रियता झल्कने खालका कार्यक्रमहरू गर्ने गरेको पाइएको छ । कसैले राष्ट्रिय पोशाक दिवस भनेर पनि मनाइरहेका छन् भने कसैले ढाकाटोपी दिवस अथवा कसैले नेपाली टोपी दिवस भनेर मनाउँदै आएका छन् । जो जुन बाटोबाट हिंडे पनि आखिर गन्तव्य भने एउटै हो । सबैको चाहना सरकारलाई राष्ट्रिय पोशाकसँगै पोशाक दिवस चाहियोे भनेर दवाव दिने नै हो । यसर्थ पनि यसमा धेरैको साथ र सहयोग त छँदैछ । साथै दिनप्रतिदिन राष्ट्रिय भावले ओतप्रोत युवा जमातहरूको संख्या पनि बढिरहेको छ । हामीहरूको संयुक्त दबाबले नै हाम्रा नेताहरूको चेत खुल्ने हामीले आशा गरेका छौं ।

नेपाली टोपीकै कुरा गर्ने हो भने यस अन्तर्गत ढाकाटोपी र भादगाउँले कालोटोपी मात्र पर्छ कि भनेर पनि धेरैमा भ्रम परिरहेको छ । मुख्यतः यी दुई खालका टोपीहरूले नेपाली टोपीको प्रतिनिधित्व गरे पनि यसभित्र अन्य समुदायले लगाउने टोपीहरू पनि पर्छन् भनेर चाहिँ हामीले भुल्नु हुँदैन ।

नेपाली टोपीकै कुरा गर्ने हो भने यस अन्तर्गत ढाकाटोपी र भादगाउँले कालोटोपी मात्र पर्छ कि भनेर पनि धेरैमा भ्रम परिरहेको छ । मुख्यतः यी दुई खालका टोपीहरूले नेपाली टोपीको प्रतिनिधित्व गरे पनि यसभित्र अन्य समुदायले लगाउने टोपीहरू पनि पर्छन् भनेर चाहिँ हामीले भुल्नु हुँदैन । विभिन्न नेपाली समुदायले लगाउने टोपी जातीय टोपीहरू हुन् । जे भए पनि ढाकाटोपी र कालोटोपीले भने पूरै नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गरेका छन् । ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको छ । बीचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ । यसर्थ पनि यी टोपीहरूको महत्व धेरै छ ।

नेपाली टोपी दिवस कहिले मनाउन थालियो भनेर पनि धेरै जनाले सोधेको प्रश्न हो । धेरै जनालाई त थाहा भएकै हुनुपर्छ । नेपाल र नेपाल बाहिर रहेका नेपालीहरूले विगत ८ वर्षदेखि जनवरी एकलाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आइरहेका छन् । शुरुका २ वर्ष यो दिवस सामाजिक सञ्जालमा मात्र सीमित भयो । तर विगत ८ वर्षदेखि भने यसलाई औपचारिकता दिने गरी सार्वजनिक कार्यक्रम गर्दै धेरै संघसंस्थाहरूले नेपाली टोपी दिवसको विधिवत शुरुवात गरेका छन् । यसै क्रममा जागरुक युवा अभियान नेपालले पनि यसलाई निरन्तरता दिन थालेको हो । यस संस्थाले गत ६ वर्षदेखि औपचारिक कार्यक्रम गरी नेपाली टोपी दिवसलाई भव्य रूपले मनाउँदै आइरहेको छ । गत वर्ष उसले जनवरी १ लाई नेपाली टोपी दिवसको रूपमा मनाएको थियो ।

यसवर्ष भने विश्व महामारीका रुपमा रहेको कोरोना प्रभावका कारण यस संस्थाले औपचारिक कार्यक्रमहरु गरेन । तर सामाजिक संजालहरुबाटै जो जहाँ छौं त्यहिंबाट टोपी दिवस मनाउन संस्थाले सबैलाई अनुरोध गरेको छ ।

यति भनिरहँदा पनि हामीले यो बिर्सनु हुँदैन कि हामी अहिले पनि राष्ट्रिय पोशाक विहिनताकै अवस्थामा छौं । जहाँ जाँदा जति ठूला भाषण गरे पनि हाम्रा नेतृत्वहरूले अहिलेसम्म नेपाली पहिचान झल्किने कुनै पनि पोशाकको आवश्यकता नै देखेका छैनन् । तर पनि कुनै जाति विशेषका चार्डपर्वहरूमा जाँदा हाम्रा नेताहरू उनीहरूका टोपी लगाएर राष्ट्रियताको झल्को दिने नाटक भने अहिले पनि गरिरहेका छन् । जागरुक युवा अभियानको मुख्य उद्देश्य भनेको जसले हाम्रो मौलिक पहिरनलाई पररर ताली ठोकेर संसदबाट हटाए, संविधानबाट हटाए तिनै नेताहरूले त्यसरी नै ताली ठोकेर हाम्रो पहिचानलाई पहिले जसरी नै संविधानमा अटाउने वातावरण बनाउनु नै हो ।

यसर्थ पनि हाम्रो यो अभियान चलि नै रहन्छ । तपाईं हामी जुन ठाउँमा छौं, जे गरिरहेका छौं त्यो काम निरन्तर गरेरै पनि सकेसम्म सबै पहिचान झल्किने पोशाक सधैं लगाऔँ, सधैँ सकिँदैन भने एक दिन मात्र भए पनि लगाएर राष्ट्रियतालाई बचाइराखौं भनेर नै हामीले नेपाली टोपी दिवसको थालनी गरेका हौं । तर यस दिनलाई औपचारिक रूपमा नेपाली टोपी वा राष्ट्रिय पोशाक दिवस भनेर अझै पनि हामीले मनाउन पाएका छैनौं । जागरुक युवा अभियान नेपालको उद्देश्य नेपाली टोपीलाई बचाउँदै जनवरी एकलाई नै टोपी दिवसको रूपमा सधैं मनाउने वातावरण मिलाउन सकियोस् भन्नु नै हो । यसर्थ यसमा सबैको साथ र सहयोगको उत्तिकै जरुरी छ । जय नेपाली टोपी ।

Logo