अमर न्यौपानेको ‘गुलाबी उमेर’ को लोकार्पण (भिडियोसहित)

अमर न्यौपानेको ‘गुलाबी उमेर’ को लोकार्पण (भिडियोसहित)


काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

गुलाबी उमेर किशोर किशोरीको मनोविज्ञानमा आधारित रहेको छ । कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले ‘गुलाबी उमेर’ किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए । उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्को पाठक खडा गरिनु पनि नौलो अभ्यास रहेको उनको भनाई छ । नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नायिका केकी अधिकारीले गुलाबी उमेर पढेर आफ्नो किशोराअवस्थाको याद आएको बताइन् । “पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो,” उनले भनिन्, “मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन् ।”

कार्यक्रममा लेखक न्यौपानेले आफूले अहिलेसम्म बटुलेको अनुभवका आधारमा कृति लेखिएको बताए । आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिएको तर विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए । उनले भने, “मैले भनेर विद्यार्थीहरूलाई गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।”

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील छ । त्यस्तै २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ ।

४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । भने ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ । लोकार्पण कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, हास्य कलाकार जितु नेपाल, नायिका रिमा विश्वकर्मा, नायक विपिन कार्की, साहित्यकारहरू, कलाकारहरू, पत्रकार, युवायुवती लगायतको उपस्थिति रहेको थियो ।

Logo