त्रिशुलीमा खसेको बस झिकियो, २४ यात्रु अझै बेपत्ता

त्रिशुलीमा खसेको बस झिकियो, २४ यात्रु अझै बेपत्ता


धादिङ,

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्रीबस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर बुधबार दुर्घटना भएको छ । साँझ सम्म बसलाई त्रिशूलीबाट निकालिएको छ ।

तर बसभित्र कोही पनि यात्रु नभेटिएको उद्दारमा खटिनु भएका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ। दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । १६ जनाको उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३ः३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन् भने बाँकीको परिचय खुलेको छैन । थप दुई जनामा एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ ।

वर्षातको समय भएकाले नदीमा पानीको मात्रा बढी र धमिलो भएकाले बेपत्ताको खोजी कार्यमा निकै कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, प्रमोद चौधरी सहचालक र ऋषी उप्रेती कन्टेक्टर सवार थिए ।
गोरखापत्रबाट

Logo