बाराका ७९ सहकारी संस्थाको दर्ता खारेज

बाराका ७९ सहकारी संस्थाको दर्ता खारेज


कलैया, २१ साउन । बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ ।

सहकारी ऐन बमोजिम दर्ता भएका ती सहकारी संस्थाले ऐन नियम तथा संस्था स्वीकृत विनियमबमोजिम गर्नुपर्ने कार्य नगरेको र ३१ वर्षसम्म कुनै पनि विवरण नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराका कार्यालय प्रमुख कुलोत्तम पोखरेलले बताउनुभयो ।

गत वर्षसम्म बारा जिल्लामा १० प्रकारका ७ सय ११ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये कृषि सहकारी ३ सय ६०, बचत तथा ऋण सहकारी २ सय २७, बहुद्देश्यीय सहकारी ५३, साना किसान सहकारी १९, पशुपालन सहकारी १६, दूध उत्पादन सहकारी १५, मत्स्य सहकारी १३, सञ्चार सहकारी चार, उपभोक्ता सहकारी तीन र तरकारी तथा फलफूल सहकारी संस्था एक वटा रहेका छन् ।

Logo