सरकारले दमनकारी क्रियाकलाप गरिरहेको छः नारायणकाजी श्रेष्ठ

सरकारले दमनकारी क्रियाकलाप गरिरहेको छः नारायणकाजी श्रेष्ठ


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको आरोप लगाएका हुन् । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि उनले बताए । उनले भने, “प्रधानमन्त्री र सरकार आफैंले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैरकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।”

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए । उनले थपे, “हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पुरै बन्द गर्दै र नेपालमा फेरी सामाजिक, आर्थिक रुपमान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।”

निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि उनले बताए । तर पनि ढिलोचाँडो संविधान र कानूनअनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताए । उनले भने, “निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तर पनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसाला गर्नेछन भन्ने अपेक्षा गर्दछौं ।”

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुटबाहेक सिंगो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताए । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको उनको भनाइ छ । उनले थपे, “छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधिन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ ।”

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाँई समेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । 

यस्तै पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने र त्यसअन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पुरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्ष द्धयले गराउनु भएको प्रवक्ता श्रेष्ठले बताए । 

Logo