जितका बाबजुद मलेसिया बाहिरियाे, नेपाल फाइनलमा

जितका बाबजुद मलेसिया बाहिरियाे, नेपाल फाइनलमा


नेपाल चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सिरिजको अन्तिम खेलमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएपनि नेपाल नेटरनरेटका आधारमा फाइनलमा पुगेको हो । तर, मलेसिया जितका बाबजुद पनि बाहिरिनु परेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको ८३ रनको सामान्य लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाका लागि मलेसियाकी ऐना हामिजाह हाशिमले सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै, महिराह इजाती इस्माइलले २१ रन बनाइन् । 

बलिङमा कप्तान रुबिना क्षेत्री, सिता रानामगर र पूजा महत्तोले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् । 

बलिङमा मलेसियाकी ऐना हामिजाह हाशिम, महिराह इजाती इस्माइल र नुर दानैआ सामादले समान २/२ लिए । 

जारी सिरिजमा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो  । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । नेपालको नेटरनरेट ०.८५३ रह्याे । त्यस्तै,  हङकङले पनि ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । हङकङको नेटरनरेट ०.१९२ रह्यो । तेस्राे स्थानमा रहेकाे मलेसियाको नेटरनरेट ०.००७१ रह्यो ।  

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलेका थिए  । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको हो । अब फाइनल शनिबार हुनेछ ।

Logo