चितवन, २५, कात्तिक
चितवनको नारायणगढ–मुग्लिक सडकखण्ड अन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ । आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध समेत गरेका छन् । भोलि आइतबार देखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनार्इ छ ।
भोलिबाट एकहप्ता परीक्षण स्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्रे सकिएको छ । दुई वर्ष देखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो । निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुन सम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
रासस
प्रतिक्रिया