नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट

नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट


बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमबार बिहान ११ बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजारका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ । 

गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए । अहिले यहाँका स्थानीयवासीको विचल्ली भएपछि गासबासको बालबच्चाहरूको निकै समस्या परेको छ । 

Logo