भुक्तानी नपाए उखु किसानले पुनः आन्दोलन गर्ने

भुक्तानी नपाए उखु किसानले पुनः आन्दोलन गर्ने


कपिलवस्तुका उखु किसानले आफूहरूले पाउनुपर्ने रकम नपाएको भन्दै सरकारलाई पुनः ध्यानाकर्षण गराएका छन् ।

सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरूले ज्ञापनपत्र बुझाएका छन् । यहाँका किसानहरूले यसअघि यसरी माग गरेको धेरै समय भइसकेको छ तर समाधान भएको छैन । पटक पटक किसानले पटक पटक ज्ञापनपत्र दिने र आन्दोलन गर्ने गरेको समयमा आश्वासन पाए पनि माग भने पूरा नभएको दुखेसो पोखेका छन् ।

उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै आव २०७१।०७२ मा नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान सङ्घको नाममा गरिदिने, वि।सं २०७३।०७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्र्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायत १० बुँदे माग गरेका छन् ।

पटक पटकको आन्दोलनपछि विसं २०७७ पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी गरेको अध्यक्ष चौधरीले बताए । ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले फागुन मसान्तसम्म पनि कुनै सुनुवाइ नभए माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिए ।

पटक पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ ।

Logo