मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत

मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत


कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको बालुवा हालेको छ ।

स्थानीयवासीको  विरोध र विभिन्न सञ्चारमाध्यममा खबर आएपछि  नगरपालिकाको टोलीले गरेको सडकको अनुगमनका क्रममा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्र सडक बनाएको पाएपछि  नारायणम रेखा जेभी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालोसूचीमा राख्न सिफारिशलगायत कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

यसरी कालोपत्र सडकमा अलकत्रा र भुटेको बालुवा राख्दा गिट्टी चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि निर्माण भइरहेका ठाउँमा कालोपत्र नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको, खुट्टाले कोट्याए जमीन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

सडकको सबबेस र बेसको काम राम्रो रहे पनि कालोपत्र गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या देखापरेको भए पनि खासमा त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको छ । अलकत्राको गुणस्तर कमजोर भएको/नभएकोबारे प्रमाणित गर्न उपमहानगरपालिकाको प्रयोगशालामा परीक्षणका लागि पठाउन लागिएको नगरपालिकाका इञ्जीनियर सन्तोष चन्दले बताए ।

अहिले स्यान्डसिल गरिए पनि अलकत्रा परीक्षणपछि गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्र बिग्रिएको छ, त्यसमा माथिबाट मर्मत मात्र नभई धेरै बिग्रिएका २०० मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरि कालोपत्र गर्नुपर्ने अवस्था रहेको चन्द बताउछन्  । करीब १७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो चरणअन्तर्गत ३.५६ किमी सडक कालोपत्र गर्ने काम भइरहेको छ । सडक कालोपत्र गर्नका लागि नारायणम रेखा जेभी निर्माण सेवाले एक करोड ५८ लाख ६० हजार  ९५८ मा ठेक्कामा लिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिक टोलीलाई अनुगमनमा पठाइएको र प्राविधिकलाई सडक मापदण्डानुसार भए/नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको बताए । सडक मापदण्डविपरीत भए शुरुमा मापदण्डअनुसार बनाउन पत्राचार गरिने र नमाने कानूनबमोजिम कारवाही गरिने सिंहको भनाइ छ ।

कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्डअनुसार नै बनाइएको जिकिर गरेकाे छ । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको उनको भनाइ छ । स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको चक्रपथ  नगरपालिकाको महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ ।

सुखडको भुखाली चोकबाट पीपलडाँडा, पूर्वी पेट्रोलपम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखालीचोकसम्म करीब १७ किमी चक्रपथ निर्माण हुने बताइएको छ ।

Logo