नारायणीले पार गर्‍यो खतराको विन्दु

नारायणीले पार गर्‍यो खतराको विन्दु


नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो ।

निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव आज ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो ।
 
नारायणीसँगै राप्ती र  रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका  समयमा दाउरा टिप्न र  माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र  महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि  तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ ।

नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।

नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा  महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र  सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन् । नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ । 

Logo