संविधान दिवसमा भारतका प्रधानमन्त्रीको शुभकामना

संविधान दिवसमा भारतका प्रधानमन्त्रीको शुभकामना


 नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । 

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उहाँले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरे । 

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्‍याए । 

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधामन्त्री मोदीले सन्देशमा गरे । संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री देउवालाई हालसम्म बङ्गलादेश, श्रीलङ्का, म्यान्मा र लाओसका प्रधानमन्त्री तथा बेलारुसका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश पठाएको तथा अन्य राष्ट्रबाट पनि शुभकामना प्राप्त हुने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

Logo