कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु


मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाउँपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गरे। अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उनले बताए ।

मकवानपुरगढी कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आवबाट सुरुआत गरिएकामा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उनको भनाइ छ ।

गाउँपालिकामा यस वर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले आजबाट नै सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् ।

धमिले सहकारी संस्था लिमिटेकका अध्यक्ष नवराज सञ्जेलले गाउँपालिकाको यस कार्यक्रमले विपन्न किसानले जीवनस्तर माथि उठेको बताए । यस कार्यक्रमले सहकारी र किसान दुबैतर्फ कार्य प्रोत्साहन गरेको अध्यक्ष सञ्जेलको भनाइ छ । गाउँपालिकाले किसान क्रेडिट कार्ड लगायतका विभिन्न नमूना काम ल्याएको छ ।

कृषक कृष्णप्रसाद तिमल्सिनाले गाउँपालिकाले दिएको सहुलिएत ऋणबाट भैँसी खरिद गरेको जानकारीदिए । अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाईपालनका साथै तरकारी खेती गरिरहेका छन् । दूध र तरकारी बेचेर उनको परिवारको गुजारा मात्र चल्दैन केही बचत पनि हुने गरेको उनको भनाइ छ ।

यसैगरी किसान सूर्यमाया रुम्बाले पनि गाउँपालिकाको कार्यक्रमबाट किसान क्रेडिट कार्ड पाएर पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका छन्। – रासस 

Logo