बङ्गलादेशले लुम्बिनीमा बनाउने भयो अर्को बौद्ध विहार

बङ्गलादेशले लुम्बिनीमा बनाउने भयो अर्को बौद्ध विहार


बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बुद्ध विहार बनाउने भएको छ । 

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी बङ्गलादेश सरकारका तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको सम्झौतापछि राजदूत चौधरीले बताए ।

उनले भने, “नेपालमा बङ्गलादेशको बौद्ध विहार बनाउने पहिलो प्रोजेक्ट हो, यसलाई बङ्गलादेश सरकारले उच्च प्राथमिकता दिएर काम अगाडि बढाउनेछ, हामी जतिसक्दो छिटो काम सम्पन्न गर्नेछौँ, लुम्बिनी विकास कोषको ऐन, नियमभित्र रहेर हामी विहार निर्माण गर्नेछौँ ।”

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याले लुम्बिनीसँग बङ्गलादेशको सम्बन्ध पुरानो भएको सन्दर्भ उल्लेख गर्दै सन् १९७२ मा गठित लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिमा समेत सदस्य राष्ट्रको हैसियतले बङ्गलादेशले खेलेको भूमिका प्रशंसनीय भएको बताए । 

उनले वर्षमा विश्वभरिका करिब १५ लाख मानिसले अवलोकन गर्ने लुम्बिनीमा बङ्गलादेश सरकारद्वारा निर्माण हुने बौद्ध विहारले संसारका मानिसलाई बङ्गलादेश घुम्न जाने वातवरण पनि बनाउने बताए । उनले भने, “बङ्गलादेश सरकारले बनाउने विहार हेरेपछि मानिसलाई बङ्गलादेश घुम्न जाने रहर जाग्नेछ ।” रासस
 

Logo