सुपारीको डिएनए परीक्षण गरेर मात्रै आयात निर्यात गर्न सुशासन समितिको निर्देशन

सुपारीको डिएनए परीक्षण गरेर मात्रै आयात निर्यात गर्न सुशासन समितिको निर्देशन


नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रुपमा नेपाल भित्रिएको सुपारी पुनःविदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजत भन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो ।

समितिले शुक्रवारको बैठकमा छलफलपछि सुपारीको डिएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पु¥याएर निर्यात गर्न दिने गरेको जानकारी दिए ।

केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरी पुस्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजिकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताए । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुस्करको भनाइ छ ।

बैठकमा सांसदहरुले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरुले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताए । 
 

Logo