सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी


नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन ।

गएराति मात्र सन्दीपले आफू मानसिक रूपमा विक्षिप्त बनेको विवरण सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेका थिए । आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उक्त पोस्टमार्फत उनले जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् खुलाएका छैनन् । बरु बिरामी भएको र आफू ‘आइसोलेसन’मा रहेको उनले दाबी गरेका छन् ।

Logo