सशस्त्र प्रहरी बलको स्टाफ कोर्समा डिएसपी गैरे सर्वोत्कृष्ट

सशस्त्र प्रहरी बलको स्टाफ कोर्समा डिएसपी गैरे सर्वोत्कृष्ट


छैठौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्षमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरे सर्वोत्कृष्ट भएका छन् । 

एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित कोर्षको आज समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गैरे र रिसर्चतर्फ प्रथम हुने सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोबहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरेका छन् । कार्यक्रमम सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भू आयोजना गरिएको थियो । 

सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा कुशुम शाक्यले सशस्त्र प्रहरी नायब उपरीक्षक गैरेलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ प्रदान गरे । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपिएफ अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए । उनले दिक्षित अधिकृतहरूले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक विकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने बताए । 

उनले एपिएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक सञ्चालन गर्न नेपाल सरकार गृह मन्त्रालय, त्रिभुवन विश्वविद्यालयलगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरूबाट प्राप्त सहयोगप्रति आभार समेत प्रकट गरे । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपिएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

उनले दिक्षित अधिकृतहरूलाई कार्यक्षेत्रमा सफलताको कामना गर्दै भोलिका दिनमा आउनसक्ने सुरक्षा चुनौतीहरू परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रर्दशन गरी व्यवसायिक जिम्मेवारी निर्वाहमा यस्ता कोर्षबाट प्राप्त ज्ञान उपयोगी रहने बताए । 

१६ जेठ ०७८ बाट संचालन भएको सो कोर्षमा दुई जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, तीन जना सशस्त्र प्रहरी उपरीक्षक र पाँच जना सशस्त्र प्रहरी नायब उपरीक्षकसहित १० जना जना अधिकृत सहभागी थिए । 

सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो । 

Logo