अभियुक्तविरुद्ध बयान लिन शनिबार पनि सरकारी वकिल कार्यालय खुला रहने

अभियुक्तविरुद्ध बयान लिन शनिबार पनि सरकारी वकिल कार्यालय खुला रहने


नक्कली भुटानी शरणार्थी पक्राउ प्रकरणमा पक्राउ परेकाहरुको बयान लिन शनिवार(आज) पनि सरकारी वकिल कार्यालय काठमाडौँ खुला हुने भएको छ। 

आइतवार अनुसन्धान प्रतिवेदन बुझिसक्नुपर्ने भएको हुँदा बयानका लागि सरकारी वकिल कार्यालय शनिवार पनि खुला हुने भएको हो। प्रहरीका अनुसार प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको बयान शनिवार हुँदैछ। उनीहरुलाई प्रहरीले बिहीवार पक्राउ गरेको थियो। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायधिवक्ता अच्यूतमणी न्याैपानेले बयानकालागि शनिवार कार्यालय खुला रहने जानकारी दिए। उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाल र शमशेर मियाँसँग बयान लिन बाँकी छ। आज उनीहरुसँग बयान लिनकै लागि कार्यालय खुला रहनेछ। उनीहरुसँग हामीले हिजो नै बयान लिने भनेका थियौँ। तर, हुन सकेन्। प्रहरीले कार्यालयमा उपस्थित गरायो भने उनीहरुसँग आज बयान हुनेछ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले पक्राउ परेका रिजाल र मियाँलाई बयानका लागि शनिवार नै सरकारी वकिल कार्यालय लगिने बताए। उनले भने,‘रिजाल र मियाँसँग सरकारी वकिल कार्यालयले बयान लिन बाँकी छ । उनीहरुलाई आजै कार्यालय लगिनेछ। बयान सकिएपछि भोली अनुसन्धान प्रतिवेदन पेश गरिनेछ।’

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई रहेका छन्। 

त्यस्तै, सन्दीप भण्डारी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरीलाई पनि प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ। पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र नीरज राई भने अहिले फरार छन्। 

उनीहरु विरुद्ध प्रहरीले अहिले संगठित अपराध र ठगि मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनीहरु विरुद्ध राज्य विरुद्धको अपराध कसूर पनि लगाउने तयारी प्रहरीको छ। प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा गत १२ चैतमा दुलाल र भणडरीलाई पक्राउ गरेको थियो। त्यसपछि घटनामा जोडिएका हाईप्रोफाइल धमाधम पक्राउ परेका हुन्। 

Logo