सात वर्षमा पनि किन बनेन तीनकुने पुल? फेरि नयाँ ठेक्का!

सात वर्षमा पनि किन बनेन तीनकुने पुल? फेरि नयाँ ठेक्का!


सात वर्षअघि निर्माण सुरु भएको काठमाडौं तीनकुनेस्थित बाग्मती नदीको पुल निर्माण कार्यले अझै गति लिन सकेको छैन। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनको बदमासीले पुल निर्माण अलपत्र परेको सडक विभागले जनाएको छ।

पप्पु कन्स्ट्रक्सन प्रालिसँग गरिएको सात वर्षअघिको ठेक्का रद्द भएपछि फेरि नयाँ ठेक्का दिने विभागको तयारी छ। यद्यपि, पुलको ठेक्का कहिले लाग्छ भन्नेमा विभागलाई थाहा छैन। 

लामो समयदेखि पुललाई लथालिंग छाडिँदा यात्रुहरूलाई समस्या हुने गरेको छ। तीनकुने पुलनजिकै व्यवसाय गर्दै आएका दीपक क्षेत्री भन्छन्, ‘समयमै पुल नबन्दा सडकजाम बढ्नुका साथै दुर्घटना निम्तिने समस्या हुन्छ। यात्रुहरूलाई आउजाउ गर्नसमेत अप्ठ्यारो भएको छ।’ 

सात वर्षअघि ३० करोड लागतमा पुलको ठेक्का दिए पनि पप्पुले त्यसको तीन वर्षपछि मात्र काम थालेको थियो। निर्माण कम्पनीले नदी दुवैतर्फको किनारमा पिलर बनाउन सुरु गरेको थियो। तर, डिजाइनअनुसार काम नभएको भन्दै सडक विभागले पप्पुलाई काम अगाडि नबढाउन निर्देशन दिएको थियो। 

पप्पुसँग ठेक्का रद्द गरी नयाँ ठेकेदारसँग सम्झौता अगाडि बढाउने भनी विभागले जानकारी दिएको पनि तीन वर्ष बितिसकेको छ। तर, पुलको अवस्था जस्ताकोतस्तै छ।   

‘पुलमा प्रयोग भएका रड कामै नदिने अवस्थामा पुगेका छन्। खिया लागेर पुल हेर्नै नहुने अवस्थामा पुगेको छ,’ कोटेश्वर घर भएका रामविनोद शाह भन्छन्। 

पप्पुको बदमासीले कैयौं निर्माण–योजना  भताभुंग

नेपालमा विकास निर्माणका कार्य समय सीमाभित्र सिध्याउन अनेकौं चुनौती छन्। समयमै सम्झौता नहुनु तथा ठेकेदारको ढिलासुस्ती–लापरवाहीले अधिकांश विकास निर्माणका योजना अलपत्र परेका छन्।

 सडक विभागका उप–महानिर्देशक शिवप्रसाद नेपालका अनुसार कतिपय अवस्थामा स्थानीयको अवरोध र सरकारी उल्झनले पनि विकासका काम अवरोध हुने गर्छ। ‘तीनकुने पुलमा पप्पु कन्स्ट्रक्सनको चरम बदमासी देखिएपछि ठेक्का रद्द भयो,’ नेपाल भन्छन्। पप्पुले निर्माण थालेका अधिकांश पुलपुलेसा, भवन आदिको अवस्था यस्तै रहेको नेपालको भनाइ छ। 

पप्पु कन्स्ट्रक्सन प्रालिसँग गरिएको सात वर्षअघिको ठेक्का रद्द भएपछि फेरि नयाँ ठेक्का दिने विभागको तयारी छ।

पप्पु कन्स्ट्रक्सनले तीन वर्षमा निर्माण सम्पन्न गर्ने सर्तमा २०७१ साल पुसमा सडक विभागसँग ठेक्का सम्झौता गरेको थियो। तर, पप्पुलाई काम सुरु गर्नै तीन वर्ष लाग्यो।

पप्पुले बल्लतल्ल काम सुरु त गर्याे। तर, कमसल निर्माण सामग्री प्रयोग तथा डिजाइनअनुसार  काम नभएको सडक विभागले फेला पार्याे। यही कारणले ठेक्का रद्द भएको हो। 

गत आर्थिक वर्षमै नयाँ ठेक्कामार्फत् पुल निर्माण अगाडि बढाइने भनिए पनि अझै प्रक्रिया सुरु भएको छैन। तीनकुने पुलको पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान अझै बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। 

उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारी तीनकुने पुल फेरि ठेक्का प्रक्रिया जान लागेको बताउँछन्। ‘सडक विभागले पुल निर्माणका लागि बजेट तय गर्न बाँकी छ,’ उनले भने, ‘विभागबाट त्यो आएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुन्छ।’ 

अधिकारीका अनुसार अब एक महिनाभित्र तीनकुने पुल निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ। ‘डिजाइन एन्ड बिल्ड’ अनुरुप बोलपत्र आह्वान गरिने र पुरानो पुलको दायाँ–बायाँ दुवैतर्फ ८५–८५ मिटरको नयाँ पुल बन्ने छ। कम्पनीले तयार गरेको ढाँचामै नयाँ पुल निर्माण गरिनेछ। 

नयाँ ठेक्का सम्झौतापछि साढे दुईदेखि तीन वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न हुने आयोजनाले जनाएको छ।

Logo