आइसियु र भेन्टिलेटर खाली छन्? सरकारलाई नै थाहा छैन!

आइसियु र भेन्टिलेटर खाली छन्? सरकारलाई नै थाहा छैन!


आइसियु र भेन्टिलेटरमा भर्ना हुनेको संख्या चुलिन थालेसँगै सरकारले आइसियु र भेन्टिलेटरको उपलब्धताबारे तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गर्ने कोभिड–१९ को दैनिक रिपोर्टमा बिहीबारसम्म आइसियु र भेन्टिलेटरको उपलब्धताबारे तथ्याङ्क प्रकाशन हुँदै आएकोमा शुक्रबारदेखि भने त्यो बन्द गरिएको छ। शुक्रबार, शनिबार, आइतबार र सोमबारको दैनिक रिपोर्टमा प्रयोगका लागि उपलब्ध कूल भेन्टिलेटर र आइसियुको संख्या नराखिएको हो ।  

मन्त्रालयको दैनिक रिपोर्टमा उल्लेख गरिएको तथ्याङ्कको आधारमा आइसियु र भेन्टिलेटरमा बिरामीको संख्या अचाक्ली बढिरहेको तर त्यसैअनुसार आइसियु र भेन्टिलेटरको व्यवस्था सरकारले नगरेकोबारे समाचार केन्द्रबिन्दुले गत साता प्रकाशित गरेको थियो। आइसियु र भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या तथा आइसियु र भेन्टिलेटरको उपलब्धताको तुलनाका अनुसार उक्त समाचार बिहीबार सम्प्रेषण गरिएको थियो। तर, शुक्रबारदेखि सरकारले आइसियु र भेन्टिलेटरको उपलब्धताबारे तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेपछि दैनिक रिपोर्ट हेर्नेले त्यस किसिमको तुलना गर्न नपाउने भएका छन्।

किन लुकाउँदैछ सरकारले तथ्याङ्क?

वैशाख १२ मा आइसियुमा रहेका बिरामीको संख्या २ सय ५२ थियो जुन २.४४ गुणाले बढेर गत साता मंगलबार ६ सय १६ पुगेको थियो। यसै सोमबार त्यो संख्या ९ सय १० पुग्यो जुन वैशाख १२ को भन्दा ३.६१ गुणाले बढी हो। 

अर्को तर्फ वैशाख १२ मा भेन्टिलेटरमा रहेका बिरामीको संख्या ६५ मात्र थियो जुन २.७५ गुणाले बढेर अघिल्लो साताको मंगलबार १७९ पुगेको थियो। यस सोमबार त्यो संख्या २ सय ९५ पुग्यो जुन वैशाख १२ को भन्दा ४.५ गुणा बढी हो। 

यसरी भर्ना हुने बिरामीको संख्या ज्यामितीय अनुपातमा बढिरहेको अवस्थामा आइसियु र भेन्टिलेटरको संख्या मंगलबारसम्मको तथ्याङ्क अनुसार अंकगणितीय अनुपातमा मात्र बढिरहेको थियो। वैशाख १२ मा आइसियुको संख्या १ हजार १ सय ६९ थियो जसमा क्रमिक रूपमा २ सय ३७ वटा थपेर मंगलबार १ हजार ४ सय ६ पुर्याइयो। त्यस्तै वैशाख १२ मा भेन्टिलेटरको संख्या ४ सय ७८ थियो, जसमा क्रमिक रूपमा ९४ वटा थपेर मंगलबार ५ सय ७२ पुर्याइयो। 

बिरामीहरूका लागि उपलब्ध आइसियु र भेन्टिलेटरबारे तथ्याङ्क राखिएको अन्तिम दिन बिहीबार आइसियु र भेन्टिलेटरको संख्या क्रमशः १ हजार ४ सय ६ र ५ सय ६६ रहेको थियो। 

यसरी कोरोना महामारी तीव्र रूपमा बढ्दै गरेको अवस्थामा सरकारले आवश्यकताअनुरूप क्षमता विकास गर्न नसक्दा तथ्याङ्कलाई नियन्त्रित ढंगले प्रस्तुत गर्न खोजेको देखिन्छ। 

सरकारले गैरजिम्मेवारी ढाकछोप गरी सत्ता स्वार्थ पूरा गर्न  तथ्याङ्क लुकाएको विश्लेषक भीम भूर्तेलको ठम्याइ छ। 

‘मानिसहरूलाई वस्तुस्थितिबारे प्रस्ट जानकारी नभएपछि सरकारका लागि प्रश्नहरू कम हुने भए। तथ्याङ्कको अभावमा सरकारले भ्रम छरिराख्न पाउने भयो। कोरोनालाई परास्त गर्ने रणनीति बनाउनभन्दा सत्ता टिकाउन सरकार लागिपरेको देखिन्छ,’ भूर्तेलले भने।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुवैले आफ्ना असक्षमता ढाक्न सूचना नियन्त्रणको उपाय अपनाएको विश्लेषक भूर्तेलको बुझाइ छ।

संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा स्थिति नियन्त्रणभन्दा बाहिर गएको र विद्यमान स्रोतसाधनले धान्न नसक्ने बक्तव्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको एक हप्ता हुँदै गर्दा शनिबार अमेरिकी न्युज च्यानल सीएनएनलाई अन्तरवार्ता दिँदै स्थिति नियन्त्रणमा रहेको उल्टो अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएका थिए।

भारतको सन्दर्भमा भने भारतीय वैज्ञानिकहरूको एक टोलीले कोरोना भाइरसको नयाँ र शक्तिशाली भेरिएन्टबारे मार्चको सुरुतिरै भारत सरकारलाई जानकारी दिएको भए तापनि सरकारले लाखौँ मानिसहरूलाई उक्त  जानकारीबाट वञ्चित गरी चाडपर्व र राजनीतिक सभामा सहभागी हुन दिएको भनी हाल अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा भइरहेको छ। 

भारत सरकारको कोभिड–१९ टास्कफोर्सको तथ्याङ्क अनुसार युवाहरूमा संक्रमणको दर गत वर्ष जत्तिकै भएको तर विज्ञ, स्वास्थ्यकर्मी, घाटका कर्मचारी र राजनीतिज्ञले ह्वात्तै बढेको संक्रमित संख्या र मृत्युदरले युवा पनि प्रभावित भएको भनी देखाएको दाबी गरेकोबारे समाचार सीएनएनले बैशाख १६ गते छापेको थियो।

कोभिड–१९ महामारीबारे एकद्वार प्रणालीबाट सर्वसाधारणलाई जानकारी र तथ्याङ्क उपलब्ध गराउन सरकारले खोलेको पोर्टलको दैनिक रिपोर्टमा नियन्त्रित ढंगले तथ्याङ्क देखाइन थालेपछि कोरोना महामारी र स्वास्थ्य क्षेत्रको स्थितिबारे मानिसहरू अनभिज्ञ हुने देखिन्छ। सूचना नियन्त्रण हुन थालेको अवस्थामा मानिसले सतर्कता अपनाउन कुनै हालतमा छाड्न नहुने भूर्तेलले बताए।

Logo